दाङ, २ मंसिर । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित आँखा अस्पतालहरूले सात सय ६८ जनाको निःशुल्क आँखा जाँच गरेका छन् ।
छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगञ्ज, कपिलवस्तुको प्राविधिक सहयोग, रुइत फाउन्डेसन र महाराजगञ्ज नगरपालिका कपिलवस्तुको आयोजनामा महाराजगञ्ज नगरपालिका ८ मा भएको निःशुल्क आँखा शिविरमा छ सय ४२ जनाको आँखा जाँच तथा एक सय ५५ जनाको शल्यक्रिया गरिएको बाह्य कार्यक्रम संयोजक हरिबहादुर भण्डारी जानकारी दिए ।
चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवालको नेतृत्वमा गएको टोलीले सेवा दिएको थियो । यसैगरी लमही आँखा अस्पतालको प्राविधिक सहयोमा लमही नगरपालिका–३ फल्कापुरमा निःशुल्क आँखा जाँच कार्यक्रममा ४६ जनाको आँखा जाँच गरिएकोमा १२ जना मोतियाबिन्दुका बिरामी फेला परेको नेत्र अधिकृत लालबहादुर चौधरीले जानकारी दिए । शल्यक्रिया गर्नु पर्ने बिरामीलाई लमही आँखा अस्पतालमा रिफर गरिएको छ । साथै २४ जनालाई नजिकको चस्मा वितरण गरिएको छ ।
यसैगरी शनिवार राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा बबई गाउँपालिका–७ मलईमा निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ । आँखा जाँच कार्यक्रममा ८० जनाको आँखा जाँच गरिएकोमा २८ जना मोतियाविन्दुका बिरामी फेला परेका छन् । आँखा जाँच कार्यक्रममा २८ जनालाई निःशुल्क नजिकको चश्मा वितरण गरिएको पूर्णबहादुर वलीले जानकारी दिएका छन् । दृष्टि विशेषज्ञ ओमप्रकाश यादवको नेतृत्वमा गएको प्राविधिक टोलीले सेवा दिएको थियो ।