उपनिर्वाचन : लुम्बिनी प्रदेशमा एमाले फाइदाको खोजिमा, कांग्रेस र माओवादीलाई विरासत जोगाउने चुनौती

दाङ, ३० कार्तिक । स्थानीय तह उपनिर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशका रिक्त ६ पदमा मंसिर १६ चुनाव हुँदैछ । रिक्त ६ पदमध्ये यसअघि कांग्रेसले ४ र माओवादीले २ स्थानमा जितेका थिए । कांग्रेस र माओवादीलाई यसअघि आफूले जितेका सिटमा विरासत जोगाउने चुनौती रहँदा एमाले भने जित हासिल गरी फाइदा उठाउने दाउमा छ ।

एमाले र माओवादी केन्द्रले उम्मेदवार टुङ्ग्याएका छन् भने नेपाली कांग्रेसले रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष र सोही पालिकाको वडा नं २ बाहेक अन्य ठाउँमा उम्मेदवार टुङ्ग्याएको कांग्रेसका लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश रानाले जानकारी दिनुभयो ।

रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर४ मा कांग्रेसका टङ्कबहादुर पुन ४८८ मत पाएर अघिल्लो निर्वाचनमा विजयी हुनुभएको थियो । उहाँका प्रतिस्पर्धी एमालेका बेगम पुनले ४८० र माओवादीका शिवलाल रोकाले २०३ मत पाउनुभएको छ । अहिले नेपाली कांग्रेसले भूपमणि पुनलाई उम्मेदवार बनाएको छ भने एमालेले बेगम पुनलाई नै मैदानमा उतारेको छ । माओवादीबाट नरेशजङ्ग शाही उम्मेदवार बनेका छन् ।

यस्तै नेपाली कांग्रेसले जितेको अर्को ठाउँ बर्दियाको ठाकुर बाबा नगरपालिका वडा नम्बर ४ हो । वडा नम्बर ४ मा अहिले नेपाली कांग्रेसले अनिल थारुलाई उम्मेदवार बनाएको छ भने एमालेले विष्णु प्रसाद देवकोटा र माओवादीले शेर बहादुर थारुलाई मैदानमा उतारेको छ ।

माओवादीले यसअघि जितेको रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष र सोही पालिकाको वडा नं २ को वडाअध्यक्ष पदमा पनि उपनिर्वाचन हुँदैछ । माओवादीको राम्रो प्रभाव रहेकाले केन्द्र र प्रदेशमा सत्ता साझेदार रहेका कांग्रेस र एमालेले तालमेल गरेर ती दुवै सिटमा उम्मेदवारी दिने तयारी गरे पनि भागबण्डा मिल्न सकेको छैन् । कांग्रेसका एक नेताका अनुसार उपाध्यक्ष र वडाअध्यक्ष बाँड्न दुवै दलबिच छलफल भए पनि अझै निष्कर्षमा पुग्न नसकेको हो ।

केन्द्रको नीति अनुसार लुम्बिनी प्रदेशमा माओवादीले एकल उम्मेदवारी दिएको छ । तर आफ्ना उम्मेदवारलाई जिताउनका लागि सान दलहरूसँग सहयोग मागेर अगाडि जाने माओवादी केन्द्रको योजना छ । माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले आफ्ना उम्मेदवारलाई जिताउन स्थानीयस्तरमा एकीकृत समाजवादी, नेकपा, जसपा लगायत दलसँग सहयोग माग्ने योजना रहेको बताउनुभयो ।

एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष भोज प्रसाद श्रेष्ठले प्रदेशअन्तर्गत स्थानीय तहका ६ सिटमा हुने उपनिर्वाचनमा आधा जति स्थानमा जित्ने आधार बनाएर अगाडि बढेको बताउनुभयो । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश रानाले नेपाली कांग्रेसबाट जितेका ठाउँहरूमा पार्टीले गरेका राम्रा काम आगडि बढाउने गरी उपनिर्वाचनमा लाग्ने बताउनुभयो ।