दाङ, २७ कार्तिक । अर्घाखाँचीका तीन स्थानीय सरकारले हरिबोधनी एकादशीको अवसरमा आज सार्वजनिक बिदा दिएका छन्। सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका र भूमिकास्थान नगरपालिकाले हिन्दु धर्मावलम्बीको महानपर्व हरिबोधनी एकादशीको अवसरमा आज मंगलबारका लागि सार्वजनिक विदा दिएका हुन् ।
शितगंगा नगरपालिकाले एक सूचना जारी गरि स्थानीय सार्वजनिक बिदा दिएको र नगरपालिका अन्तर्गतका कार्यालय, शिक्षण संस्थाहरू रअत्यावश्यक सेवा बाहेक स्वास्थ्य संस्थाहरूसमेत बन्द रहने नगर प्रमुख स्तरीय बैठकबाट निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर जिसीले बताए ।
सन्धिखर्क नगरपालिका अन्तर्गतका कार्यालय तथा शिक्षण संस्थाहरूमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरिएको सन्धिखर्क नगरपालिकाका सूचना अधिकारी शाखा अधिकृत मञ्जु खनालले बताइन् ।
हिन्दु धर्मावलम्बीले मनाउने हरिबोधनी एकादशीको पावन अवसरमा भूमिकास्थान नगर भित्रका कार्यालय तथा शिक्षण संस्थाहरूमा स्थानीय सार्वजनिक बिदा दिइएको नगरपालिकाका सूचना अधिकारी कार्यक्रम अधिकृत हरिश्चन्द्र भुसालले जानकारी दिए ।