दाङ, २४ कार्तिक । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले अहिलेसम्मकै सर्वाधिक ‘सो’ पाउने नेपाली चलचित्रको कीर्तिमान बनाएको छ । सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रले दर्शकलाई सिनेमा हलसम्म आकर्षित गर्दै मन जितिरहेको छ ।
यसअघि ‘बेहुली फ्रम मेघौली’ले देशभरि ३३५ सो पाएर कीर्तिमान बनाएको थियो तर एक महिनाभित्रै उक्त रेकर्ड तोडिएको हो । ‘बेहुली फ्रम मेघौली’ प्रदर्शन हुँदा अन्य चलचित्र नभएकाले सुरुवातमै धेरै सो पाएको थियो ।
‘पूर्णबहादुरको सारङ्गी’ लाई पनि हलवालाहरूले सुरुमा पत्याएका थिएनन् । कात्तिक १५ गतेदेखि देशभर एकैसाथ प्रदर्शनमा आएको यो चलचित्रले बिहीबार नेपालभरका सिनेमा हलमा ३८० भन्दा बढी ‘सो’ पाएको थियो ।
यसले नेपाली चलचित्रको इतिहासमै एकैदिन सबैभन्दा धेरै सो पाउने नेपाली चलचित्रको कीर्तिमानसमेत बनाएको फिल्म निर्माण संस्था सेभेन सिजले जनाएको छ । तिहारको अघिल्लो दिन शुव्रmबार दुई भारतीय चलचित्र प्रदर्शन भएसँगै हलहरूले चलचित्रलाई जम्मा ५७ सोमा खुम्च्याइदिएका थिए ।
भारतीय चलचित्र ‘सिङ्घम अगेन’लाई उनीहरूले १२१ सो र ‘भुलभुलैया ३’ लाई ८३ सो दिएका थिए । चलचित्रले अहिले ४०० भन्दा बढी सो पाएको वितरक प्रचण्डमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार अस्टनारायण हल लगायत हलले दिएको सोको हिसाबकिताब राम्रोसँग आएको छैन ।