दाङ, २१ कार्तिक । दाङको तुलसीपुरमा एक युवकमाथि खुकुरी प्रहार गर्ने मध्यका मुख्य अभियुक्तलाई पक्राउ गरेको इलाका प्रहरी तुलसीपुरले जनाएको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर निवासी गोविन्द हमाल रहेको प्रहरी निरीक्षक विनोदराज खत्रीले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक खत्रीका अनुसार बिहान ९ बजे तुलसीपुरको विद्युत कार्यालय नजिकैबाट पक्राउ गरिएको हो । पक्राउ परेका विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । सोही घटनामा फरार रहेका तुलसीपुर–४ का बसन्त खड्का र सुदन मगर लगायतका ५ जना फरार रहेको र उनिहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।
ज्यान मार्ने उद्योगमा पक्राउ परेका अभियुक्त दोषी ठहर भएमा मुलुकी अपराध संहिता ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ र फोजदारी कसूर ऐन २०७४ को दफा १८३ (२) को उपदफा (१) बमोजिम कसूर गर्ने वा गराउने व्यक्तीलाई ५ वषेदेखि १२ वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । कुनै व्यक्तीलाई मार्ने नियतले खुकुरी प्रहार गरि टाउको, गर्धन र छातीको बीच भागमा घाउ खत देखिएको तर कुनै कारणले ज्यान मर्न पाएको रहेनछ भने त्यस्तो अवस्थामा ज्यान मार्ने उद्योगको मुद्दा आकर्षित हुने कानुनी व्यवस्था छ ।
गएको बिहीबार तुलसीपुरको सल्यान रोड स्थित सल्यानी होटलमा चौरजहारी नगरपालिका– ११ घर भै हाल तुलसीपुर निवासी ३३ वर्षका वीर बहादुर वली माथि खुकुरी प्रहार भएको थियो ।
खुकुरी प्रहारबाट घाइते भएका वलीको राप्ती प्रादेशिक अस्पतालमा प्रारिम्भक उपचार पछि थप उपचारका लागि कोहलपुर हुँदै अहिले भारतको लखनौमा उपचार भइरहेको आफन्तले जानकारी दिएका छन् । ३ वटा मोटरसाइकलमा गएका ५र६ जना युवाको समूहले दिउसो ४ः४० बजे वली माथि खुकुरी प्रहार गरेको थियो । खुकुरी प्रहारबाट वलीको टाउको, बायाँ हात र खुट्टामा गहिरो चोट लागेको छ ।