दाङ, १६ कात्तिक । लक्ष्मी पुजाको दिन दाङको तुलसीपुर स्थित सल्यान रोडमा एक युवक माथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट रुकुम पश्चिम चौरजहारी नगरपालिका– ११ घर भै हाल तुलसीपुर बस्दै आउनु भएका ३३ वर्षका वीर बहादुर वली घाइते भएको प्रहरीले जनाएको छ ।
रेडियो प्रकृति एफएम नजिकै रहेको सल्यानी होटलमा चिया खाँदै गरेका वलीलाई मोटरसाइकलमा आएका ५÷६ जनाको समूहले ४ः४० बजे खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीले जानकारी दिनुभयो ।
खुकुरी प्रहारबाट वलीको टाउको, बायाँ हात र खुट्टामा गहिरो चोट लागेको छ । वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।
घटनामा संलग्न रहेको आरोपमा तुलसिपुर –४ रक्षाचौर निवासी ३३ वर्षका गोविन्द हमाल, ३२ वर्षका बसन्त खड्का, २६ वर्षका सुदन मगर लगायत व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।