दाङ, १६ कात्तिक । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहान १ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैँयाले घटाएको हो । यस्तै खाना पकाउने ग्यास (एलपी) प्रति सिलिन्डर ५५ रुपैयाँ ७० पैसाले बढेकाे छ ।
मूल्य घटेसँगै डिजेल र मट्टितेल पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एक सय ४७ रुपैयाँ ५० पैसा, एक सय ४९ रुपैयाँ र एक सय ५० रुपैयाँ रहेको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रुपमा तोकेको छ ।
डिजेल र मट्टितेलकाे मूल्य घटेपनि पेट्रोलकाे मूल्य यथावतनै रहेकाे छ । पेट्राेल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५८ र तेस्रो वर्गका लागि १ सय ५९ रहेकाे छ ।
नयाँ मूल्य निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुनेछ । इण्डियन आयल कर्पोरेशन (आइओसी)बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलिमय पदार्थको मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।