मानव सेवा आश्रमको राष्ट्रिय उद्धार यात्राको टोेली दाङमा


दाङ्ग, ११ कार्तिक। मानव सेवा आश्रमको मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८१ को टोलीलाई दाङमा स्वागत गरिएको छ ।

सडकपेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताइरहेका सडक आश्रित सहयोगापेक्षीहरूको उद्धारका लागि मानव सेवा आश्रमले हरेक वर्ष मेची महाकाली राष्ट्रिय उद्धार यात्रा गर्दै आएको छ । सोही क्रममा यात्रीहरू आज आईतबार बेलुका साढे ६ बजे दाङमा आईपुगेपछि घोराहीको विपि चोकमा स्वागत गरिएको हो ।

यो पटकको चार्ड पर्वमा कसैले बस्न नपरोस् सडक पेटिमा भन्ने मुल नाराका साथ राष्ट्रिय उद्धार यात्रामा हिडेको टोलीसंगै दाङ आउनु भएकी चर्चित गायिका आनी छोइङ डोल्मालाई दाङ जिल्ला उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय लगाएतका सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा स्वागत गरिएको युवा व्यवसायी प्रविणकुमार भण्डारीले जानकारी दिनुभएको छ ।

स्वागत गर्न घोराही विपि चोकमा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशी, वरिष्ट उपाध्यक्ष नरेशकुमार श्रेष्ठ, पूर्व अध्यक्ष नारायण प्रसाद भुषाललगाएत संघका प्रतिनिधि एवं पदाधिकारीहरु र जिल्ला प्रहरी कार्यालय दाङका एसपि अर्जुन तिमिल्सिना, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपाने(गुन्टु) पुग्नु भएको थियो । यो उद्धार यात्राको खर्च आनी छोइङ डोल्मा फाउन्डेसनले सौजन्य गरेको जनाईएको छ ।

मानव सेवा आश्रमका केन्द्रियअध्यक्ष नाम रामजी अधिकारी सहितको पदाधिकारी टोली मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८१ मा हिडेको कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार भोली सोमवार विहान ९ बजे घोराहीको तुलसीपुर चोकमा एक कार्यक्रम गरि उद्धार यात्राको बारेमा जानकारी तथा सडकआश्रितहरुको उद्धार गर्न बजार अवलोकन गरिने जानकारी दिनुभएको छ । यस्तै भोली नै तुलसीपुर बजारमा पनि सडक अवलोकन, उद्धार यात्राको बारेमा जानकारी दिदै सडकआश्रितहरुको उद्धार कार्य गरिने जानकारी दिनुभएको छ ।

साथै सडक अवलोकन तथा सडक आश्रितहरुको उद्धार कार्यमा जिल्लाका उच्च पदस्थ व्यक्तिहरुको सहभागिता रहने आयोजकले जनाएको छ । मानव सेवा आश्रमले आउँदो वर्ष अर्थात् २०८२ साल भित्र नेपाललाई सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्न नपर्ने देश निर्माण गर्ने सङकल्प गरेको छ ।