दाङ, ११ कार्तिक । यस वर्षको तिहारमा सयपत्री, मखमली, गोदावरी र मिक्स गरी ४५ लाख २५ हजार माला खपत हुने अनुमान गरिएको छ । गत वर्ष कुल ३९ लाख ७५ हजार वटा सयपत्री, मखमली, गोदावरी र मिक्स माला खपत भएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।
एसोसिएसनले सबैभन्दा बढी ३२ करोड रुपैयाँको सयपत्री फूलको माला खपत हुने अनुमान गरेको छ । गत वर्षको तिहारमा २२ करोड ७५ लाख रुपैयाँको ३५ लाख वटा सयपत्री फूलको माला खपत भएको थियो । ‘यस वर्षको तिहारमा ३२ करोड रुपैयाँको ४० लाख माला आवश्यक पर्ने अनुमान गरिएको छ, जसमध्ये २५ लाख माला आन्तरिक र १५ लाख वटा भारतबाट आयात गरिनेछ,’ एसोसिएनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
तिहारमा कुल ३ लाख २५ हजार वटा मखमली फूलका माला आन्तरिक बजारमा खपत हुने एसोसिएसनले जनाएको छ । १ लाख ५० हजार वटा मखमली फूलको माला निर्यात गरिने एसोसिएसनका तदर्थ समितिका अध्यक्ष सूर्यभक्त श्रेष्ठले बताउनुभयो ।
गत वर्षको तिहारमा सयपत्री फूलका प्रतिमाला ६५ रुपैयाँमा बिक्री भएको थियो भने यसपालि प्रतिमाला ८० रुपैयाँ पुग्न सक्ने एसोसिएसनका एसोसिएसनका पूर्वअध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो ।
गत वर्षको तुलनामा यसपालि सयपत्री फूलको उत्पादन घटेको र गत असोजमा आएको अविरल वर्षाले समेत क्षति पुगेकाले सयपत्री फूलका मालाको मूल्य बढ्ने तामाङले बताउनुभयो ।
एसोसिएसनले तिहारमा १५ लाख वटा सयपत्री फूलको माला भारतबाट आयात गर्ने अनुमान गरेको छ । तर सरकारले सयपत्री फूलको माला आयातका लागि अनुमति दिइनसकेको पूर्वअध्यक्ष तामाङले बताउनुभयो ।