दाङ, ७ कात्तिक । दाङमा महिला उद्यमीले करिब तीन करोड मूल्य बराबरको खसी–बोका बिक्री गरेका छन् । दसैँको अवसरमा जिल्लाका विभिन्न सामाजिक उद्यमी महिला सहकारीमार्फत् दुई करोड ९२ लाख ७० हजार नौ सय ५८ रुपैयाँ मूल्य बराबरको खसी–बोका बिक्री गरेका हुन् । जसमा एक हजार छ सय ६८ वटा खसी–बोका बिक्री भएका छन् । जिल्लामा सबैभन्दा धेरै खसी–बोका बिक्री गर्नेमा लमही नगरपालिका–९ रिहारमा रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था रहेको छ ।
कर्मठले दसैँमा एक करोड आठ लाख ५० हजार दुई सय १७ रुपैयाँ पाँच पैसा रुपैयाँको पाँच सय ८७ वटा खसी–बोका बिक्री गरेको आइएएलभिसी परियोजनाका बजार सहजकर्ता बसन्ता मगरले जानकारी दिनुभयो। बजार सहजकर्ता मगरका अनुसार लमही नगरपालिका–७ कप्तानगञ्जÞमा रहेको दिपन्न सामाजिक उद्यमी महिला सहकारी संस्थाले ६८ लाख ३४ हजार सात सय २२ रुपैयाँको चार सय एक वटा, लमहीकै वडा नं. १ सुनडबरीमा रहेको नीलकमल सामाजिक उद्यमी महिला सहकारी संस्थाले ३६ लाख २३ हजार एक सय ४५ रुपैयाँको दुई सय सात वटा खसी–बोका बिक्री गरेको छ ।
यसैगरी राजपुर गाउँपालिका–५ जङ्ग्रहवामा रहेको बेला राजपुर सामाजिक उद्यमी महिला सहकारी संस्थाले ३६ लाख ७३ हजार चार सय ६६ रुपैयाँको दुई सय एक वटा, गढवा गाउँपालिका–६ गढवामा रहेको गढवा सामाजिक उद्यमी महिला सहकारी संस्थाले २८ लाख ४७ हजार ९० रुपैयाँको एक सय ७० वटा, लमही नगपालिका–२ केरुनियामा रहेको समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्थाले आठ लाख तीन हजार ४५ रुपैयाँ मूल्यको ४७ वटा, घोराही उपमहानगरपालिका–२ झिङ्नीमा रहेको सुधार सामाजिक उद्यमी महिला सहकारी संस्थाले तीन लाख ६६ हजार सात सय तीन रुपैयाँ सात पैसाको २० वटा र घोराही उपमहानगरपालिका–१३ वनगाउँमा रहेको ज्यामिरे सामाजिक उद्यमी महिला सहकारी संस्थाले दुई लाख ७१ हजार ७६ रुपैयाँको २० वटा खसी–बोका दसैको अवसरमा बिक्री गरेको छ ।
गाउँ–गाउँमा महिला उद्यमीले उत्पादन गरेका खसी–बोका तुलसीपुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँगै व्यवसायीले खरिद गरेका हुन् । जिल्लामा खरिद गरेका खसी–बोका काठमाडौंलगायतका विभिन्न ठाउँमा पठाउने गरेका छन् ।