दाङ, ४ कार्तिक । ८ वर्षीया बालिका बलात्कार घटनामा संलग्नहरूको खोजी गर्न माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय भालुबाङ अगाडि प्रदर्शन गरेका छन् । स्थानीय महिलाहरू तथा पीडितपक्षले प्रहरी कार्यालय अगाडि दिनभर प्रदर्शन तथा नारावाजी गरे । बालिका बलात्कृत भएको १० दिनसम्म पनि घटनामा संलग्नलाई पक्राउ नगरिएकोले बलात्कारीको संरक्षण गर्न लागेको भन्दै स्थानीयले नारावाजी गर्दै प्रदर्शन गरेका हुन ।
राप्ती गाउँपालिका –१ भालुबाङ सशस्त्र प्रहरी वेश क्याम्प नजिकै बनाइएको पिङ खेल्न गएकी बालिका माथि गत असोज २४ गते बलात्कार भएको थियो । प्रहरीले आरोपित पक्राउ नगरेको भन्दै स्थानीय राजनीतिक दल, व्यवसायी, मानव अधिकारकर्मीलगायतको भेलाले न्यायका लागि भन्दै शनिवार १८ सदस्यीय सङ्घर्ष समिति समेत गठन गरेका छन् । भेलाले सुरज खड्काको संयोजकत्वमा १८ सदस्यीय सङ्घर्ष समिति गठन गरेको हो ।
समितिको उपसंयोजकमा गञ्जबहादुर विष्ट र सदस्यहरुमा राजकुमार आचार्य, घमानसिंह राउत, नारायण शर्मा, मुकुन्द रोका, शिशिर पुन, बाबुराम थापा, भिमप्रकाश पुन, विधानचन्द्र अधिकारी, विशाल ज्ञवाली, श्रीधर जिसी, दिनेश आचार्य, सुर्यकिरण केसी, कर्णबहादुर केसी, असन सारु, डिल्ली सुवेदी र विष्णु बोहोरा हुनुहुन्छ । संघर्ष समितिले शनिवार नै इलाका प्रहरी कार्यालय भालुवाङमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको छ ।