दाङ : पुल नहुँदा सधै समस्या

लीलाधर वली

दाङ, २ कात्तिक । बंगलाचुली गाउँपालिकाका विभिन्न वडाका स्थानीयलाई खोलामा पुल नहुँदा समस्या हुने गरेको छ । घोराहीको चौघेरा–रामपुर–हाँसीपुर सडक अन्तर्गत घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिका जोड्ने सुगा खोला, बंगलाचुली गाउँपालिका वडा नं. ३ र ४ नम्बर वडा जोड्ने माना खोला र वडा नं. ८ मा पर्ने अर्जुन खोलामा पुल नहुँदा स्थानीयलाई आवागमनमा समस्या हुने गरेको हो ।

बर्सातको समयमा विद्यालय जाने बालालिका, कामका लागि आउ–जाउसँगै ज्येष्ठ नागरिक, सुत्केरी र बिरामीलाई अस्पतालसम्म पुग्न समस्या हुने गरेको बंगलाचुली गाउँपालिका–४ गहतेरा निवासी लुुमाकान्त डाँगी बताउँछन् । खोलामा पक्की नभए पनि झोलुङ्गे पुलको व्यवस्था भइदिए स्थानीयलाई सहज हुने भन्दै डाँगीले भने, ‘खोलामा पुल नहुँदा हामीलाई दुःख भएको छ, बिरामी हुँदा ज्यानकै बाजी लगाएर खोला तर्नु पर्छ तर स्थानीयका समस्यामा जनप्रतिनिधिको ध्यानै छैन ।’

यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि मन्त्री बने पनि जनताको समस्या समाधान हुन नसकेको उनको गुनासो छ । निर्वाचनका क्रममा आश्वान दिने तर पछि वास्ता नगर्ने प्रवृत्तिका कारण जनताले बर्सेनि दुःख पाउने अवस्था रहेको भन्दै डाँगीले भने, ‘भौगोलिक विकटता भएकाले सुविधाभन्दा समस्या धेरै छन्, खासमा हाम्रा लागि राम्रो बाटो चाहिएको छ । बाटोका लागि खोलामा पुल बनाउन पटक–पटक आग्रह गर्दै आएका छौँ तर सुनुवाइ भएको छैन ।’

घोराहीबाट प्रदेश राजधानी भालुबाङ जोड्ने छोटो बाटोसँगै स्थानीयलाई दैनिक उपभोग्य सामान लिन घोराही जाने बाटो भए पनि खोलामा पुल नभएकाले बर्सातमा समस्या हुने गरेको बंगलाचुली गाउँपालिका–८ निवासी टीकाराम खत्री बताउँछन् । बंगलाचुलीको वडा नं. ३, ४, ७ र ८ का स्थानीयलाई घोराही बजारसँग जोड्ने सडक भए पनि त्यो बाटोमा पर्ने खोलामा पुल नहुँदा बर्सातको समयमा गाडी आवागमनमा समस्या हुने गरेको बताए ।

हिउँदमा बस चले पनि वर्षा याममा घोराही उपमहानगरपालिका–१ सिमलतारासम्म मात्र बस चल्दा दैनिक उपभोग्य सामानका लागि ३÷४ घण्टा हिड्नु पर्ने बाध्यता स्थानीयलाई रहेको भन्दै खत्रीले भने, ‘बाटो त छ तर बाटोमा पर्ने खोलामा पुल छैनन्, त्यसैले बर्खामा खोलाले गाडी छेक्छ । करिब ४÷५ महिना त दैनिक उपभोग्य सामग्री बोकेरै ल्याउनु पर्ने बाध्यता छ ।’ बंगलाचुली गाउँपालिका वडा नं. ४ को गहतेरा, गहतेराडाँवर, वडा नं. ३ को मुलाबारी, भेँडाबारी, वडा नं. ८ को हाँसीपुर, कात्तिके, चैते, कोइरालेलगायतका गाउँलाई जोड्दै लुम्बिनी प्रदेश राजधानी राप्ती गाउँपालिका जोड्ने सडक प्रत्येक वर्ष मर्मत गरिए पनि खोलामा पुल नभएकाले समस्या जस्ताकोत्यस्तै रहेको माध्यमिक विद्यालय भेँडाबारी मुलाबारीका शिक्षक समेत रहेका खत्री बताउँछन् ।

कृषिका लागि उर्वरभूमि मानिने यो क्षेत्रमा बाह्रमहिनै कृषि खेती गर्न सकिने भए पनि भरपर्दाे सडक नभएकाले समस्या भएको सोही ठाउँ निवासी विक्रम डाँगी बताउँछन् । सडक राम्रो भएको भए र कृषि उपज बजारसम्म पु¥याउने सहज व्यवस्था भए बंगलाचुलीबासीलाई राहत हुने भन्दै डाँगी भन्छन्, ‘यो क्षेत्र कृषि उत्पादनका लागि अत्यन्त राम्रो ठाउँ हो । किसानले वर्षमा दुई बाली धानखेतीसँगै तरकारी उत्जादन गर्ने भए पनि सहज बाटो नहुँदा पछि पर्नु पर्ने बाध्यता छ ।’ बर्सातको समयमा खोलामा बाढी आउँदा तर्न नसकेर विद्यार्थीलाई विद्यालय तथा बिरामीलाई स्वास्थ्यचौकीसम्म आउजाउमा समस्या हुने गरेको उनले बताए ।

हिउँदमा जोखिम कम हुने भए पनि बर्सातमा स्थानीयलाई खोला तर्न सकस हुने गरेको छ । स्थानीयले बारम्बार सम्बन्धित निकायसम्म पुगेर पुल माग गर्दै आए पनि कसैको ध्यान नगएको बंगलाचुली गाउँपालिका वडा ४ का वडाध्यक्ष डाँसबहादुर डाँगीले बताए । जनप्रतिनिधिका रूपमा आफूले पटक–पटक स्थानीयको समस्या प्रदेशदेखि सङ्घीय संसद्का जनप्रतिनिधि समक्ष राख्दा आश्वासन दिए पनि बजेट विनियोयजनमा बेवास्ता गर्दा स्थानीयले वर्षाैँदेखि कष्टकर यात्रा गर्नुपर्ने बाध्यता रहेको बताए । बर्सातमा सडकमा खसेको पहिरो हटाएर जतिसक्यो चाँडो यातायात सञ्चालनका लागि पहल गरे पनि पुल निर्माण नहुँदा र ठुलो पहिरो खसेको ठाउँमा बाटो बनाउन समस्या हुने गरेको बताए ।