छवि पुरी
दाङ, २ कार्तिक । दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ४ र ८ का किसानहरू पछिल्लो समय आएको बाढीले तीन बाली लाग्ने उर्वर जमिन बगरमा परिणत गरेपछि समस्यामा परेका छन् । ती वडाको गहतेरा, मानाखोला, समीघाट, अर्जुनखोला आसपासका किसानहरू बाढीले निम्त्याएको विपत्तिले पीडित बनेका छन् । सो क्षेत्रमा बसोबास गर्ने तथा खोला नजिक खेतबारी भएका किसानहरू बाढीको प्रकोपका कारण आफ्नो जीविकोपार्जनमा गम्भीर समस्या भोग्न बाध्य भएको बताएका छन् ।
बंगलाचुली गाउँपालिका वडा नम्बर ४ गहतेरा डाबरका ६७ वर्षीय ढुंढीराज डाँगीको घर नजिकैबाट बग्ने मानाखोलाले वर्षमा तीन बाली फल्ने खेत बगर बनाई दिएको छ । माटैमाटो, मलिलो खेत अहिले बगरमा परिणत भएपछि ढुंडीराजको निद्रा हराएको छ । उहाँसँगै रहेका अलि पाखो तिरका खेतमा धानका बाला झुलेको देख्दा ढुंढीराजलाई आफ्नो खेतमा विगतका वर्षमा फल्ने गरेका बालीको याद मात्रै आईरहन्छ । ४५ मुरी धान फल्ने खेत यो वर्षको बाढीले बगर बनाई दिएपछि आफु र आफ्नो परिवार पाल्ने सहारा हराएको छ ।
ढुण्डीराजको खेत बगरमा परिणत भएपछि अहिले खेतमा खोलासँगै ठूलाठूला ढुंगा बाहेक केही छैन । तीन बाली लगाउने यो खेत अहिले बाँझो बनेको छ । ‘हामीले यो खेतमा वर्षभरि धेरै परिश्रम गथ्र्यौं, कति मलिलो थियो । माटैमाटो भएको खेतीबाली पनि कति धेरै फल्थ्यो तर अहिले सबै बर्बाद भयो । खोलाले खेत सबै बगाएपछि अहिले ढुंगा मात्रै भएको छ । यो ढुंगा खाए भएन । यही ढुंगा बेचेर गुजारा चलाउँ भने पनि बेच्न मिल्दैन । कसरी बाँच्ने, के खाने भन्ने सोच्दा रातभर निद्रा लाग्दैन’ उहाँले भन्नुभयो ‘मनमा पीर चिन्ता मात्रै आउँछ । मेरो त बिजोग भएको छ । चामल किनेर खानुपर्ने बाध्यता आई लागेको छ ।
रासन बेसाएर खानेदिन आउँला भनेर उहाँले कहिले चिताउनुभएको थिएन । तर, आज खोलाले खेत कटान गरेपनि त्यही माना खोलासँगै बगेर मर्न पाए हुन्थ्यो भन्ने अवस्था बनाई दिएको छ । ‘खोलाले खेत मासेपछि माना चामल हरायो, आटो, पिठो सबै खोसियोे । एक्लै बसेर रोएर दिन काट्ने अवस्था आई लागेको छ । खेत ढुंगाले भरिएको छ । यस्तो हालत देखेर चाँडै मर्न पाए हुन्थ्यो भन्ने लागेको छ । कति दिन यसरी चल्ने होला । उता श्रीमतीको पीडा पनि उस्तै छ’ उहाँले भन्नुभयो ।
गहतेराका नुमाकान्त डाँगीले तीन बाली लगाउने खेतमा धान, गहुँ, र मकै खेती गर्दै आउनुभएको थियो । उहाँले वर्षभरि पर्याप्त अन्न उत्पादन गरेर आफ्नो परिवार पाल्ने योजनाका साथ खेतीपाती गर्दै आउनुभएको थियो । तर, बाढीले उहाँको खेत पुरै बगर बनाएपछि खेतीपाती गर्ने कुनै ठाउँ बाँकी राखेन । ‘अब त खेती गर्ने जमिन नै बाँकी छैन, बगर मात्र छ’ डाँगीले दुखेसो पौख्दै भन्नुभयो ‘यस्तो अवस्थामा हामी कसरी बाँच्छौं भन्ने चिन्ता छ । भएको बचेको खेतबारी जोगाउन सरकारले तत्काल तटबन्धनको काम गरिदिए हुन्थ्यो भन्ने हो । तर खै हाम्रो पीडा कसले पो सुन्थ्यो र ?’
मानाखोलाका समीर खत्रीको पीडा पनि उस्तै छ । यस्तै परिस्थितिको सामना उहाँलाई पनि गरिरहनु परेको छ । बाढीले उहाँको उर्वर जमिन बगाएर ढुंगाले भरिएको बगर बनाई दिएको छ । ‘तीन बाली लिने खेत थियो, धान, मकै, गहुँ बेचेर केही बचत हुन्थ्यो, तर अहिले खेती गर्न लायक जमिन नै छैन । सरकारले समयमै राहत दिनुपर्छ, खोला नियन्त्रणका लागि चाँडो काम गर्नुपर्छ । नभए यसले अझ धेरै क्षति गर्ने अवस्था छ’ उहाँले भन्नुभयो ।
माना खोलाले सो क्षेत्रका ६ जना किसानको करीव २ बिगाहा खेतलाई बगर बनाई दिएको छ । यसले खेतको नोक्सानी भएको छ । अर्कोतिर जीविका चलाउने आधार नै सकिएको छ । ‘खेत कटानको समस्या कुनै नयाँ होइन, तर यसको समाधानका लागि अझैसम्म ठोस पहल भएको छैन । सरकारले बाढी र कटान प्रभावित किसानलाई समयमै राहत कार्यक्रम ल्याएर पुनःस्थापित गर्नुपर्ने अत्यावश्यक छ’ समीरले भन्नुभयो ।
अर्जुन खोलाले तीन बाली लाग्ने खेत बगर बनाउँदै लगेपछि बंगलाचुली खैरेनी टारका किसानको पनि बिचल्ली भएको छ । अर्जुन खोलाको लगातारको कटानले खैरेनी टारका किसानहरू वर्षेनी ठूलो समस्यामा परिरहेका अर्जुन खोलाको कटानले देखाउने गरेको छ । खोलाले तीन बाली लाग्ने उर्वर खेतलाई क्रमशः बगरमा परिणत गरिदिएपछि स्थानीय किसानहरू आफ्नो जीविकोपार्जनको मुख्य स्रोत गुमाएर बिचल्लीमा परेका छन् । चैत धान, बर्खे धान, गहुँ, र मकै जस्ता मुख्य बाली लगाउने जमिन अहिले खोलाको कटानले कतिपय किसानको खेत बाँझो भएको छ । कतिको यो बर्खामा आएको बाढीले कटान गरेपछि खेत खोला बनेको छ ।
अर्जुन खोलाले बर्षेनी खेत कटान गर्दै लगेपछि उनीहरूको उत्पादन र जीविकामा ठूलो असर परेको छ । स्थानीय किसान जीवन खत्री भन्नुहुन्छ ‘पहिले हरेक वर्ष खेतमा तीन बाली लाग्थ्यो, धान, गहुँ, र मकै गरेर हामीलाई वर्षभरिका लागि खान पुग्थ्यो । तर, अहिले हाम्रो खेत विस्तारै बगर बन्दै गएको छ । खेती गर्न लायक जमिन नै छैन । यो अवस्था भई रहे खैरेनी टारका धेरै खेत खोला बन्नेछन् ।’
खत्री मात्र होइन, खैरेनी टारका धेरै किसानहरूले पनि आफ्नो खेत बगाएर बगर बनेको बताउनुहुन्छ । किसानहरूका अनुसार, खोलाको निरन्तर कटानले यहाँको उर्वर जमिनलाई पुरै बगरमा परिणत गर्न थालेको छ, जसले गर्दा किसानहरू दैनिक गुजाराका लागि अरु उपाय खोज्नुपर्ने अवस्थामा पुगेका छन्् ।
अघिल्लो वर्ष पनि खोलाले करिब ५० रोपनीभन्दा बढी जमिन कटान गरिसकेको थियो । यो वर्षको बाढीले थप जमिनलाई बगर बनाएको छ । किसान पशुपति खत्रीले भन्नुभयो ‘हामीले खेती गर्न चाहेको भए पनि जमिनै छैन । अब खेत फर्काउने कुनै उपाय छैन, सरकारले केही गर्दैन भने हामीले के गर्ने रु खोला नियन्त्रणका लागि तटबन्ध गरिदिए हामीलाई अरु केही चाहिएको छैन तर त्यही काममा सरकारले ध्यान दिएको छैन ।’
बंगलाचुली ८ समीघाट बस्दै आउनुभएकी ६० वर्षीया बसन्तीदेवी खत्री प्राकृतिक विपत्तिको सामना गर्दै आफ्नो र अरु छिमेकीको खेत अर्जुनखोलाले बगाई दिएपछि चिन्तामा हुनुहुन्छ । बालीले हराभरा हुने खेत अर्जुनखोलाको बाढीले बगाएपछि बसन्तीेदेवी जस्तै अरु थुप्रै स्थानीय किसानको पीडा थपिदै गएको छ ।
बसन्तीदेवी खत्रीको खेत अर्जुनखोलाको किनारामा थियो, जहाँ वर्षौंदेखि परिश्रम गरेर अन्न उत्पादन गर्दै आउनुभएको थियो । तर, अविरल वर्षापछि आएको बाढीले खेत नै खोलामा पुर्याएपछि जीविका कसरी चलाउने भन्ने चिन्तामा पर्नुभएको छ ।
सो क्षेत्रका किसानहरू बाढीले खेतबारीमा क्षति पुर्याएपछि राहत र पुनस्र्थापनाको लागि सरकारको सहयोगको प्रतिक्षामा छन् । हालसम्म उनीहरुले ठोस राहत प्राप्त गरेका छैनन् । प्राकृतिक विपत्तिले किसानहरूको जनजीवन तहसनहस बनाएको छ । तीन बाली लिने खेत बगर बनेपछि यी किसानहरूको आर्थिक स्थिति अत्यन्तै कमजोर भएको छ । राहतको आशामा बसेका किसानहरूले समयमै सरकारी सहयोग नपाए भविष्यमा अझै ठूलो संकटको सामना गर्नुपर्ने अवस्था आउन सक्ने तर्फ उनीहरु थप सशंकित बनेका छन् ।
बर्षेनी अर्जुन खोलाको कटानले ल्याउने समस्याबाट हैरान किसानहरूले वर्षौंदेखि सरकार र स्थानीय प्रशासनसँग राहतको माग गर्दै आएका छन् । तर, हालसम्म कुनै ठोस समाधान वा सहयोग प्राप्त नभएको उनीहरूको गुनासो छ । गाउँपालिकाले अवस्था बारे जानकारी लिएपनि त्यसको समाधान कार्य अघि बढेको छैन ।
माना खोला, अर्जुन खोलाको कटानलाई नियन्त्रण नगर्ने हो भने खेतहरूले भविष्यमा पुरै उत्पादन क्षमता गुमाउने खतरा छ । किसानहरूले बाँकी रहेको खेतीयोग्य जमिन जोगाउन र खोलाको कटान नियन्त्रणका लागि तटबन्धलगायत ठूला संरचना निर्माण गर्ने माग गरिरहेका छन् । स्थानीय सरकारले कटान रोक्न प्रयास गर्नुपर्ने आवश्यकतामा जोड दिए पनि त्यस्ता योजना कहिले लागू हुने र आफुहरुको बिचल्ली कहिले अन्त्य गर्न सरकारले ध्यान दिए हुन्थ्यो भन्नेमा उनीहरुको पर्खाइ छ ।
तीन बाली लाग्ने खेत बगरमा परिणत हुँदा उनीहरूको आर्थिक अवस्था कमजोर बनेको छ । सरकार र सम्बन्धित निकायहरूले शीघ्र कदम नचाले आफुहरूको अवस्था अझै जटिल बन्ने स्थानीय किसान बताउँछन् ।