दाङ, ३१ साउन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ ले टोल विकास संस्थाको मुख्य मुख्य चोकमा डस्टविन राखेको छ । बजारमा फोहोरहरु जथाभावी फाल्ने प्रवृतिलाई रोक्नको लागि ६ नम्बर वडामा पर्ने विभिन्न टोलका मुख्य मुख्य चोकमा डस्टविन राखेको वडाले जनाएको छ ।
सुरुवाती चरणमा वडाका विभिन्न टोल विकास संस्थाहरुको मुख्य चोकमा ६५ वटा डस्टविन राखेको वडा अध्यक्ष दुजमान भण्डारीले बताउनुभयो । बजारमा हिडडुल गर्ने नागरिकहरुलाई डस्टविनमा फोहोर फाल्ने बानीको विकास गर्नको लागि यो अभियान सुरु गरेको उहाँको भनाई छ ।
बढी नागरिकहरु जमघट हुने ठाँउलाई छनोट गरेर मुख्य मुख्य चोक मदन आश्रित चोक, गुम्राह चोक, बाहीनी चोक, गोलौरा चोक लगाएतको ठाउँमा डस्टविन राखिएको भण्डारीले बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा ८० वटा टोल विकास संस्थाहरु रहेको छ । अहिले सुरुवाति चरणमा बढी चासो राख्ने र भिभाड हुने टोलहरुमा ६५ वटा डस्टविन राखिएको उहाँले बताउनुभयो । आगामी दिनहरुमा अन्य टोलहरुमा पनि डस्टविन राखिने अध्यक्ष भण्डारीको भनाई छ।
सामाजिक संस्था इम्लासे नेपाल र वडाको सहयोगमा करिब ९० हजार बराबरको डस्टविन विभिन्न टोलहरुमा राखिएको छ । डस्टविनको जिम्मा टोल विकास संस्थालाई दिइएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।