रुकुम पूर्व : भालुकाप्चेको भीरमा बन्याे ‘बल्लतल्ल हिँड्न मिल्ने’ गोरेटो

Blog Post Ad Blog Post Ad Blog Post Ad

रुकुम पूर्व, ३० साउन । साबिकको बाटोमा पहिरो झरेपछि डोरीको सहारामा आवतजावत गर्नुपर्ने रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१४ स्थित भालुकाप्चेको भीरमा सामान्य पैदल हिँड्न मिल्ने गोरेटो बाटो बनाइएको छ ।

स्थानीय निर्माण व्यवसायी नरहरि खड्काको आर्थिक सहयोगमा स्थानीयले सक्रियता जनाएपछि पैदल हिँड्न मिल्ने बाटो खोस्रेर बनाइएको हो । एक महिनाअघि माथिबाट पहिरो झरेपछि वैकल्पिक रूपमा बाटो बनाउन सकिने सम्भावना भए पनि आर्थिक अभावका कारण सुरुमा सामान्य डोरी लगाएर बाटो बनाएको सिस्ने–२ का दीपक केसीले बताए । ‘बाटो भत्किने बित्तिकै सरकारसँग हारगुहार गर्‍यौं,’ उनले भने, ‘त्यहाँबाट सुनुवाइ नभएपछि हाम्रै गाउँका निर्माण व्यवसायी खड्काले सहयोग गर्ने वाचा गर्नुभयो ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्थानीय युवा र कामदारलाई दैनिक ज्यालामा परिचालन गरेर करिब एक साताको मिहिनेतपश्चात् पहिलेको भन्दा सजिलो बाटो बनाएको पनि केसीले बताए । आफ्नै गाउँ जाने बाटो भत्किएको र सर्वसाधारणले दुःख पाएको देख्न नसकेर आफूले सहयोग गरेको स्थानीय निर्माण व्यवसायी खड्काको भनाइ छ । ‘करिब २ लाख लगानीमा बाटो बनाउन सहयोग गरें,’ उनले भने, ‘खास त सरकारले बनाउनुपर्ने हो । तर सरकारकै मात्र भर परेर समस्या समाधान हुने नदेखेपछि स्थानीयको अनुरोधमा मैले आँट देखाएको हुँ ।’

यस स्थानमा पहिरो झर्दा करिब ८ सय मिटर साबिकको बाटो हिँड्न मिल्ने अवस्थामा छैन । तल उर्लिएको सानीभेरी नदी र आँखै घुम्ने भीरमा अब भने अलि सजिलो भएको अर्का स्थानीय प्रेमसिंह परियारले बताए । ‘घर–घरबाट गैंटी, बेल्चा र कुटो–कोदालो ल्याएर जोखिम मोलेर बाटो बनायौं,’ उनले भने, ‘बाटो पूरै बनाउन नसके पनि तत्काललाई पैतला अड्याउनेसम्म भएको छ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्ला सदरमुकाम रुकुमकोटबाट देउखोलासम्म गाडी आउने बाटो भए पनि त्यसभन्दा माथि भने हिँड्ने बाटो जोखिमपूर्ण छ । अहिले जसोतसो मान्छे आवतजावत गर्न मिल्ने बाटो बनेको भए पनि घोडा–खच्चड जान नसक्ने भएकाले यसभन्दा माथि रहेका सिस्नेका वडा १ र २ तथा पुथाउत्तरगंगा गाउँपालिकाका ७, ८, ९ र १४ का बासिन्दालाई दैनिक उपभोग्य सामान ओसारपसारमा समस्या भएको छ ।

सिस्ने–१ की विष्णुकुमारी बुढाले भनिन्, ‘हामी त जसोतसो हिँडौला । तर नुन–तेल, दाल–चामल पो कसरी घरसम्म पुर्‍याउने हो ?’ देउखोलादेखि पुथाउत्तरगंगाकै त्रिवेणीसम्म पक्की सडक बनाउन २०७५ सालमा पीएस शंकरमाली जेभीले कामको जिम्मा लिएको भए पनि ६ वर्षसम्म सडकको अपेक्षित प्रगति नहुँदा गत असारमा उक्त ठेक्का तोडिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अब विगतको समीक्षा गर्दै तत्काल नयाँ ठेक्का लगाएर सडक निर्माणलाई गति दिनुपर्ने भन्दै यसका लागि सबै गम्भीर हुनुपर्ने सिस्ने–२ का निवर्तमान वडाध्यक्ष जीवन केसीले बताए । ‘यसअघिका ठेकेदारले समयमै काम सकेको भए अहिले गाउँसम्म गाडी पुग्थ्यो । तर त्यो सडकको त परको कुरा हामीलाई त पैदल नै आवतजावत गर्न मुस्किल भयो,’ उनले भने, ‘विगतको हाम्रो प्रयासले परिणाम दिन सकेन । तर अब सधैं यसरी चल्दैन । सडक बनाउने र यहाँका जनमनको दैनिकीलाई सहज बनाउने कुरामा सबै गम्भीर हुन जरुरी छ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad