महामारी नियन्त्रण गर्न घोराहीमा द्रूत प्रतिकार्य समिति

दाङ, १५ वैशाख । घोराही उपमहानगरपालिकामा महामारीका रुपमा देखा पर्ने कुनै पनि स्वास्थ्य समस्याको तत्काल निराकरण गर्न स्थानीय द्रुत प्रतिकार्य समिति र टोली पुनर्गठन गरिएको छ ।

Blog Post Ad

द्रुत प्रतिकार्य टोली तथा आपतकालीन चिकित्सकीय समूह परिचालन निर्देशिका २०७९ बमोजिम समिति र टोली पुनर्गठन गरिएको हो । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा कार्यक्रम गरी स्वास्थ्य कार्यालय दाङको समन्वयमा समिति र टोली बनाइएको हो । समितिमा संयोजक नगर प्रमुख नरुलाल चौधरी, सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, डा. रमेश बस्नेत, सुनिलकुमार शर्मा र सदस्य सचिवमा जनस्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुख राधा पौडेल रहनुभएको छ ।

Blog Post Ad

त्यसैगरी स्थानीय द्रुत प्रतिकार्य टोलीमा जनस्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुख राधा पौडेल संयोजक, सदस्यहरुमा स्वास्थ्यकर्मीहरु डा. रमेश बस्नेत, लुमाकान्त पोख्रेल, हिमलाल केसी, बालकृष्ण चौधरी, विमला पौडेल, गोपीलाल वली, दुर्गाप्रसाद चौधरी, कृषि तथा पशु विकास शाखा प्रमुख श्रीधर अधिकारी, वातावरण तथा विपत् व्यवस्थान शाखा प्रमुख सुनिलकुमार शर्मा र सरसफाइ शाखा प्रमुख लक्ष्मण अधिकारी रहनुभएको छ । कुनै पनि महामारीका रुपमा देखा पर्ने स्वास्थ्य समस्यालाई समाधान गर्न समिति आवश्यक स्रोत साधन र जनशक्तिको व्यवस्थान गर्नेछ भने टोली फिल्डमा खट्ने छ ।

कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले कुनै पनि स्वास्थ्य समस्या आउन नदिन सचेतनामूलक कार्यक्रमहरुलाई निरन्तरता दिने र विपत् आइहाले तत्काल फिल्डमा खटेर निदान गर्ने गरी काम गर्न निर्देशन दिनुभयो । कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका मलेरिया फोकलपर्सन कमल चन्द र श्रीगाउँ प्राथमिक स्वास्थ्य चौकीका डा. सुगत अधिकारीले द्रुत प्रतिकार्य र आपतकालीन चिकित्सकीय समूह परिचानलका बारेमा प्रशिक्षण दिनुभएको छ ।