लमही नगरपालिकाद्वारा ७ हजार ७ सय ६८ घरधुरीलाई निस्सा वितरण

प्रिया स्मृती गजमेर

Blog Post Ad

लमही, ६ बैशाख । लमही नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लागत संकलन र निस्सा वितरण कार्य सम्पन्न भएको छ । हालसम्म २ सय २२ भूमिहीन दलित, १ हजार ३ सय ३२ भूमिहीन सुकुम्बासी र ६ हजार २ सय १४ अव्यवस्थित बसोबासी गरि ७ हजार ७ सय ६८ घरधुरीलाई निस्सा वितरण गरिएको भुमिहिन दलित भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी स्थानीय सेवा केन्द्रका संयोजक प्रकाश भण्डारीले बताउनु भयो ।

Blog Post Ad

२ सय १० भूमिहीन दलित, १ हजार २ सय ४९ भूमिहीन सुकुम्बासी र ३ हजार ७ सय ३ अव्यवस्थित बसोबासी गरि ५ हजार ७ सय ३ वटा निवेदन विभागको प्रणालीमा सुचिकृत भैसकेका छन् । नगरपालिकाको सबै वडाहरुमा नाप नक्साको लागि १ सय ९० वटा नियन्त्रण विन्दु राख्ने काम सम्पन्न भएको छ । वडा नम्बर ३, ४, ५, ६, ७, ८ र ९ मा १ हजार ६९ विगाह ४ कट्ठा १७ धुर ९ ७२४।१६ हेक्टर ० जग्गा नापजाँच गरिएको छ ।

त्यस्तै ३, ४, ५, ६, ७, ८ र ९ वडाहरुको नक्सा बनाउने कार्य सम्पन्न भएको छ भने ६, ७, ८ र ९ वडाहरुमा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको निवेदनमा सातदिने हकदावीको सूचना प्रकाशनको काम समेत सम्पन्न भएको संयोजक भण्डारीको भनाई छ ।

लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले देशको राजनीतिक घटनाक्रमका कारण भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई समयमा लालपुर्जा दिन नसकिएको बताउनु भयो । ६/६ महिनामा सरकार फेरबदल हुँदा हामीलाई पनि काम गर्न सकस छ’– उहाँले भन्नु भयो । यो पटक जनताले धेरै आशा गरेका थिए जग्गाको लालपुर्जा पाउने तर फेरी सरकार परिवर्तन हुँदा जनतामा निरासा छाएको नगर प्रमुख चौधरीको भनाई छ ।

त्यस्तै लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई के गर्दा छिटो छरितो जग्गाको लालपुर्जा दिन सकिन्छ भन्नेबारे आफु गम्भीर रहेको बताउनु भयो । उहाँहरुलाई समयमै जग्गा दिन सकियो भने कृषि उत्पादनमा सघाउ पुग्ने गरि अन्य कार्यक्रम ल्याउन सकिने नगर उपप्रमुख योगीको भनाई छ । हामीहरुले स्थानीय पालिकाबाट गर्नु पर्ने सबै कामहरु क्रमश गर्दै गैरहेका छौं तर केन्द्रीय राजनीतिले गर्दा समस्या उत्पन्न भएको छ’– नगर उपप्रमुख योगीले भन्नु भयो ।