घोराहीमा महावीरले बेचे साढे ६ लाखको पुस्तक

दाङ, ३० फागुन । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुन आफ्नो आत्मकथा बिक्री गर्न अहिले दाङमा छन्। कृषि औजार कारखाना सुधार एवं सञ्चालनका लागि आत्मकथा बिक्री गर्ने उद्देश्यले देश दौडाहामा निस्केका पुन आइतबार साँझै घोराही आइपुगेका थिए। सोमबार उनले घोराही बजारका विभिन्न चोक पुगेर किताब बेचेका थिए।
मंगलबार पनि घोराहीको तुलसीपुर चोकमा खुट्टामा चप्पल र साथमा केही थान किताब सहित पुन सामान्य पहिरनमा उभिएका थिए। उनलाई केही व्यक्तिले घेरेका थिए। उनीहरू किताब किन्न र पुनसँग तस्वीर खिच्न तँछाडमछाड गर्दै थिए।
“तुलसीपुरमा तीन दिन बसेर ९५० थान पुस्तक बिक्री गरें,” पुनले भने, “तर घोराहीमा आउँदा एकैदिन ८०० भन्दा बढी पुस्तक बिक्री भयो।”
मंगलबार बिहान मात्र ४०० भन्दा बढी पुस्तक बिक्री भएको पुनले जानकारी दिए। पुस्तक बिक्रीका लागि सहजीकरण गरिरहेका नरेन्द्र पुनले पनि घोराहीमा एकैदिन करीब साढे ६ लाख रुपैयाँको पुस्तक बिक्री भएको बताए।
पुनका अनुसार अहिलेसम्म उनको आत्मकथा ६३ हजार वटाभन्दा बढी बिकिसकेको छ। उनले तीन लाख थान पुस्तक बेच्ने लक्ष्य रहेको पनि बताए। पुस्तक बेचेर संकलन भएको रकम वीरगन्जमा रहेको कृषि औजार कारखाना सञ्चालनमा खर्चिने पुनले जनाए।
“मेरो यो महाअभियानमा नागरिकहरूले मनैदेखि सहयोग र साथ दिइरहनुभएको छ,” उनले भने, “नेपालको कुल जनसंख्याको एक प्रतिशत नागरिकले मात्र यो पुस्तक खरीद गर्नुभयो भने कृषि औजारको कारखाना सञ्चालन गर्ने सहज हुन्छ। झन्डै तीन लाख जति यो पुस्तक बिक्री भएमा १७-१८ करोड जति रकम संकलन हुन्छ।”
त्यति रकम संकलन भए कारखाना सञ्चालन गर्न राज्य गुहार्नुनपर्ने पुनले बताए। गत पुस २२ गतेदेखि काठमाडौंबाट पुस्तक बिक्री थालेका पुनको अभियान ६५औं दिन पुगेको छ। उनी नौबिसे, मुग्लिन, पोखरा, पूर्वी रुकुम, रोल्पा, थवाङ, कञ्चनपुर, कैलाली, बर्दिया, बाँके हुँदै दाङ आइपुगेका हुन्।

Blog Post Ad