दाङ आएर किताब बेच्दै महावीर पुन

दाङ, २५ फागुन । राष्ट्रिय आविष्कार केन्द्रका निर्देशक नेपाली वैज्ञानिक महाबिर पुन किताब बेच्न दाङ आइपुग्नुभएको छ । आविष्कार केन्द्रका लागि आवश्यक रकम जुटाउन पुन किताब बेच्दै दाङको तुलसीपुरमा आइपुग्नुभएको हो ।

Blog Post Ad

पुनले आफ्नै जीवनका भोगाईबारेको अनुभव किताबमा समेट्नुभएको छ । किताब पढीसकेसपछि सकारात्मक उर्जा मिल्ने उहाँले बताउनुभयो । आविष्कार केन्द्रका लागि ठुलो लगानी आवश्यक परेकोले किताब बिक्रि गरेर थोरै भएपनि रकम जुटाउने अभियानमा लागेको उहाँले बताउनुभयो ।

Blog Post Ad

‘नेपालको कुल जनसंख्याको १ प्रतिशत नागरिकलेमात्रै किताब किनेपछि मलाई पर्याप्त नभएपनि केहि रकम अवश्य जुट्छ ।’ उहाँले भन्नुभयो-‘तत्कालै रकम आवश्यक भएकोले किताब बिक्रिको अभियान थालेको छु ।’

उहाँले किताब बिक्रिको जिम्मा अरुलाई दिँदा रकम तत्काल नआउने भएकोले पनि आफै देशव्यापी घुम्ने र किताब बिक्रि गर्ने अभियानमा लागेको बताउनुभयो । बिरगञ्जको कृषि औजार कारखानालाई तत्काल मर्मत गरी संचालनमा ल्याउन लागेको उहाँले बताउनुभयो । उहाँले त्यसका लागि करिब ४० करोड रकम आवश्यक रहेको बताउनुभयो ।

‘कारखाना मर्मतका लागि करिब २२ जना अहिले पनि निरन्तर लाग्नुभएको छ ।’ उहाँले भन्नुभयो-‘यसका लागि आवश्यक रकम जुटाउन म लागिपरेको छु ।’

कारखानाका लागि करिब ४० करोड लाग्ने तर १६ करोड रकम भए शुरुवात गर्न सकिने उहाँले बताउनुभयो । अहिलेसम्म करिब ६० हजार थान किताब बिक्रि भइसकेको उहाँले बताउनुभयो । प्रतिकिताब ७ सय ५० रुपैँया पर्ने उहाँले बताउनुभयो । ‘नेपालमा अहिले करिब १ हजार खर्च गर्न नसक्ने सायदै कमै छन् ।’ उहाँले भन्नुभयो-‘त्यसैले पनि किताबको मूल्य ७ सय ५० कायम गरिएको छ ।’ कृषि औजार कारखानालाई संचालनमा ल्याउनका लागि किताब किनेर सहयोग गरिदिन उहाँले सबैमा आग्रह गर्नुभएको छ ।

किताब बिक्रिका लागि हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था तुलसीपुरमा आइपुग्नुभएका वैज्ञानिक पुनले कृषि औजार निर्माण गर्ने कारखाना संचालन गरी रोजगारी र विदेशी औजार आयातमा कमी ल्याउने बताउनुभयो । ‘नेपालमा अधिकांश कृषि औजार भारत र चिनबाट आएको छ ।’ उहाँले भन्नुभयो-‘हामीले करिब १० प्रतिशत उत्पादन दिन सक्यौँ भने आयात कम हुन्छ भने करिब ७ सय जनालाई रोजगारी दिन सकिन्छ ।’

किताब बेच्दै तुलसीपुरमा ६० औँ दिनमा आइपुगेको र शुक्रबार ६१ औँ दिनमा पनि तुलसीपुरमा बिक्रि गरिरहेको उहाँले बताउनुभयो । उहाँ काठ्माण्डौबाट मध्यपहाडी लोकमार्ग हुँदै बैतडी पुगेर दाङमा आइपुग्नुभएको हो ।