दाङ जिल्ला उद्योग वाणिज्य सङ्घको निर्वाचनका लागि उम्मेदवार मतदाता भेट्न घरदैलोमा छन् । व्यावसायिक एजेण्डा बोकेर मतदाता रिझाउने गरेका छन् । असोेज १३ मा हुने दाङ उवासङ्घको नयाँ नेतृत्व चयनको लागि दुईवटा व्यवसायी समूह चुनावी मैदानमा छन् । आफूले जितेपछि गर्ने कामको प्रतिबद्धतासहित मतदाता भेट्ने गरेको उम्मेदवारले बताउने गरेका छन् ।
निर्वाचनका लागि ३ हजार ३ सय ५८ जना मतदाता छन् । निर्वाचनमा २ प्यानल छन् । बसन्त जोशी र रामप्रसाद पोख्रेलले छुट्टा–छुट्टै प्यानल बनाएर चुनावी मैदानमा छन् । संयुक्त व्यावसायिक प्यानलको नेतृत्व जोशीले गरेका छन् भने पोख्रेलले साझा समावेशी व्यावासायिक प्यानलको नेतृत्व गरेका छन् । व्यवसायिक प्यानलका उम्मेदवार पोख्रेलसँग गरिएको कुराकानी ।
चुनावी अभियान कस्तो छ ?
दाङ जिल्ला उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्वका लागि असोज १३ गते निर्वाचन हुँदैछ । निर्वाचनको समय अब केही दिन बाँकी छ । असोज १३ गतेको मतलाई कसरी आफू केन्द्रित गर्ने भन्ने लक्षमा साथ हाम्रो समूह चुनावी अभियानमा केन्द्रित छ । विशेष गरेर हामीले प्रतिबद्धता गरेका एजेण्डा लगेर मतदातासँग भेटघाट गरिरहेका छाँै ।
मतदाताहरूको अपेक्षा, उहाँहरूले भोग्नु परेका चुनौती समस्याका बारेमा जानकारी लिने र व्यावसायिक हकहितका लागि लड्ने प्रण गर्दै उहाँहरूबाट मत माग्ने काम भएको छ । मतदाताहरू उत्साहित हुनुहुन्छ । यसैगरी व्यावसायिक अग्रज व्यक्तित्वसँगको भेटघाट र उहाँहरूबाट सरसल्लाह लिने काम भइराखेको छ ।
तपाईको उम्मेदवारी किन ?
धन्यवाद छ, राम्रो प्रश्न गर्नु भएको छ । विशेष गरेर मैले लामो समयदेखि उद्योग वाणिज्य सङ्घमा बसेर काम गर्दै आएको छु । यहाँका व्यवसायीका समस्यादेखि अवस्थाका बारेमा राम्रोसँग पहिचान गरेको छु ।
संस्थामा जोडिएपछि संस्थाको गरिमा, व्यवसायीको हकहित र विकासका बारेमा राम्रोसँग बुझेको र विगतमा इमानदारिताका साथ काम गरेको छु । ति सबै अनुभवलाई नेतृत्व गरेर अहिलेको सङ्कटमा परेका व्यवसायीको समस्या समाधान गर्नको लागि नै मेरो उम्मेदवारी हो । मेरो उम्मेदवारीमा सबै व्यवसायी मतदाताको साथ र सहयोग छ ।
आर्थिक मन्दीले थलिएका व्यवसायीका हकमा कस्ता योजना छ ?
पटक–पटकको कोभिडको असर व्यवसायी क्षेत्रमा नराम्रोसँग परेको छ । कोभिडको कारण अझैसम्म उद्योग व्यापार माथि उठन सकेको छैन । अहिले व्यावसायिहरू आर्थिक सङ्कटमा परेका छन् । दिन प्रतिदिन व्यवसायबाट पलायन हुने गरेका छन् । एकातिर बैंकहरूले ऋण समेत दिँदैनन् । अर्कोतिर व्यापार व्यवसाय ओरालो अवस्थामा छ ।
यो चुनौतीलाई समाधान गर्न राज्यका निकाय समेत कम संवेदनशील भएको मलाई अनुभव भएको छ । यो अवस्थामा व्यावसायिक टिकाउन खालले योजना बनाउन आवश्यक छ । जसका लागि राज्यका विभिन्न निकायसँग सहकार्य र परामर्श गरी समस्या हल गर्न सकिन्छ । त्यो योजना बनाएर चुनावी मैदानमा होमिएका छौँ । हामीले चुनाव जितेमा ति चुनौतीहरूलाई समधान गर्नको लागि हामी चुनावी मैदानमा छाँै ।
तपाईले जित्ने आधारहरू के–के हुन् ?
लामो समयदेखि दाङ जिल्ला उद्योग वाणिज्य सङ्घको विभिन्न पदमा बसेर कुशलतापूर्वक जिम्मेवारी पूरा गरेर आएको छु । व्यावसायिक क्षेत्रमा देखिएका चुनौती समाधानका लागि विगतदेखि भूमिका निर्वाह गर्दै आएको व्यक्ति हुँ । म हिँजोका दिनमा पनि व्यावसायिक साथीहरूसँग निकटस्थ रहेर काम गर्दै आएँ र अहिले पनि व्यावसायिक क्षेत्रका व्यक्तिसँगको समन्वय निकटस्थ छ ।
मलाई साथीहरूले गर्नु भएको सहयोग जहिल्यै मेरा लागि अतुलनीय छ । व्यवसायी मतदाताको सहयोग, प्रेम र सद्भावले मलाई उद्योग वाणिज्य सङ्घको नेतृत्वमा नर्वाचित गर्नेमा बिश्वस्त छु । अर्को कुरा व्यावसायिक सुरक्षा, विकास र एकता नै मेरो प्राथमिकता हो, जसलाई सबै व्यावसायिक मतदाताले मनपराउनु भएको छ, विश्वास दिलाउनु भएको छ । त्यो मेरो जित्ने आधार हो ।