काठमाडौं । मानवअधिकार चलचित्र केन्द्र र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा भदौ २६, २७ र २८ गते नेपाली चलचित्रको प्राज्ञिक कन्फरेन्स हुने भएको छ ।
तीन दिने राष्ट्रिय चलचित्र कन्फरेन्स नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुन लागेको हो । कन्फरेन्समा चलचित्र निर्माण, विभिन्न विषयको चित्रण र प्रभावबारे कार्यपत्र प्रस्तुत, कार्यपत्रमाथि छलफल तथा चलचित्र क्षेत्रका समसामयिक विषयमा ‘प्यानल’ छलफललगायतका कार्यक्रम समेटिने छन् ।
छलफलमा चलचित्रकर्मी, चलचित्रका विज्ञ, चलचित्रको अध्ययन अनुसन्धान गरिरहेका व्यक्ति, प्राध्यापनमा संलग्न व्यक्तिहरुले नेपाली चलचित्रका विभिन्न आयाम, यसको प्रभाव, कला र सौन्दर्यका बारेमा लेखेका एक दर्जन बढी कार्यपत्रहरु समेटिने जनाइएको छ । उक्त अवसरमा वरिष्ठ चलचित्रकर्मीको ‘नेपाली चलचित्रमा अनुभव र अनुभूति’को प्रस्तुति, तथा डा. हरि शर्माको नेपाली समाजको अर्थराजनीतिमा चलचित्रको महत्वका विषयमा ‘किनोट स्पीच’ पनि समेटिने छ ।
नेपाल पुनर्विमा कम्पनी लिमिटेडको सहयोगमा आयोजना हुने यो कन्फरेन्स नेपाल इन्डिपेन्डेन्ट फिल्म मेकर्स सोसाइटी, चलचित्र निर्देशक समाज, चलचित्र समीक्षक समाज, चलचित्र पत्रकार संघ, अस्कर इन्टरनेशनल कलेज आदिको सहआयोजना रहने छ ।
नेपालमा चलचित्र बन्न थालेको ६ दशकको इतिहासमा नेपाली चलचित्रको बारेमा गहकिलो बहस, छलफल र विमर्श गर्न पहिलो पटक हुन लागेको आयोजकको दाबी छ ।