दाङ, ४ मंसिर । घोराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीले दुर्घटनामा घाइते भएकी एल्।के।जी। कक्षामा अध्ययनरत छात्रा सिमान्शी रोका मगरलाई बिमा रकम उपलब्ध गरिदिएको छ । घरमा खेल्ने क्रममा दुर्घटनामा परेकी छात्रा रोकालाई विद्यालयले बिमा कम्पनीमार्फत उपलब्ध बिमा रकम भुक्तानी गरिदिएको हो ।
बिमा कम्पनीले दाबि गरिएको रकममा सरकारी नियम अनुरुप करकट्टी गरि ४२ हजार ८ सय ८२ रुपैया उपलब्ध गराएको थियो । उक्त रकम मंगलबार विद्यालयको प्रार्थनाका समयमा विद्यालयका प्रिन्सिपल महेश बस्नेतले छात्रा सिमान्शी रोका मगर र उनका अभिभावक सिमाना रोका मगरलाई हस्तान्तरण गर्नुभएको थियो ।
शैक्षिक सत्र २०८१ देखि प्ले ग्रुपदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुको विद्यालयले शिखर इन्सुरेन्स कम्पनी घोराही शाखासँग सहमती गरेर विद्यार्थीहरुको दुर्घटना बिमाको प्रबन्ध गरेको विद्यालयका प्रिन्सिपल बस्नेतले बताउनुभयो । बस्नेतले आफ्ना बिमित विद्यार्थीहरु नेपाल अधिराज्यभरि जुनसुकै स्थानमा दुर्घटना भइ दुइ हजारभन्दा माथिको उपचार खर्च लागेमा बिमा कम्पनीले भुक्तानी दिने सहमती गरेको बताउनुभयो ।
बिमित पक्षले दुर्घटना भएको एक महिनाभित्र उपचारका लागि आधिकारिक कागजपत्र तथा बिलहरु विद्यालयमा पेश गरिसकेको हुनुपर्ने प्रिन्सिपल बस्नेतले जानकारी गराउनुभयो । बिमा अवधि वार्षिक रहको र बिमा कम्पनीले अधिक्तम एक लाख दश हजारसम्मको दाबि भुक्तानी बेहोर्ने सहमति गरिएको प्रिन्सिपल बस्नेतले बताउनुभयो ।
बस्नेतलले आगामी शैक्षिक सत्रमा बिमा योजना कक्षा १० सम्मका विद्यार्थीहरुका लागि समेत गरिने बताउनुभयो । बिमा रकमको चेक प्राप्त गर्नुभएकी बिमित छात्राकी अभिभावक सिमाना रोका मगरले खुसी व्यक्त गर्दै विद्यालयको बिमा योजनाले ठुलो राहत प्राप्त भएको र विद्यालय परिवारप्रति आभारी रहेको अभिव्यक्त गर्नुभयो ।