दाङ : पञ्चेबाजा संरक्षणमा कला केन्द्र सक्रिय

दाङ, ४ मंसिर । नेपाली समाजमा पछिल्लो समय पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेको छ । दाङको गढवा गाउँपालिका–६ परिचोकस्थित गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्र लोप हुने अवस्थामा पुगेको बाजाको संरक्षण र प्रवर्द्धन अभियानमा जुटेको हो ।

पछिल्लो समय जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रम, भेला तथा सम्मेलनमा पञ्चेबाजा बजाउन केन्द्रका प्रतिनिधि सहभागी हुन थालेका केन्द्रका अध्यक्ष दयाराम थापाले बताए । परम्परागत महत्व बोकेको पञ्चेबाजा संरक्षण र प्रवर्द्धन गर्दै युवापुस्तामा सीप र कला हस्तान्तरण गर्ने उद्देश्यले बाजा संरक्षण अभियानमा जुटेको उनको भनाइ छ ।

जिल्लामा आयोजना हुने प्रायः विवाह, व्रतबन्ध, चौरासी, विभिन्न सभासमारोहमा बाजा बजाउने जनशक्ति अभाव हुन थालेपछि केन्द्रको सक्रियतामा सीप सिकेर अभियान सञ्चालनमा ल्याइएको अध्यक्ष थापाले जानकारी दिए । यसले युवामा चासो बढ्नुका साथै कला नयाँ पुस्तामा हस्तान्तरण समेत हुन थालेको उनले बताए ।

लोप हुन लागेको परम्परा बोकेको पञ्चेबाजा संरक्षणमा स्थानीय युवा पनि सक्रियताका साथ जुटेको देख्दा खुसी लागेको ६३ वर्षीय थापाको भनाइ छ । बुढेसकालमा अरु गर्न नसके पनि आफूले जानेको सीप युवालाई सिकाउँदै बाजा संरक्षण, परम्परा जगेर्नाका साथै आयआर्जनमा पनि सहयोग पुगेको उनको भनाइ छ  ।

गढवा–६ बालापुर निवासी अध्यक्ष थापाले विसं २०७६ देखि स्थापना भएको पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्रले अहिले पनि सक्रियताका साथ अभियान सञ्चालन गरिरहेको उनले जानकारी दिए । पञ्चेबाजा बजाउनकै लागि केन्द्रका प्रतिनिधि दाङसहित काठमाडौं, बर्दिया, चितवनलगायत अन्य जिल्लाहरूमा पनि जाने गरेको केन्द्रका अध्यक्ष थापाले अनुभव सुनाए ।

गढवा–६ का ओमप्रसाद आचार्यले बुढापाकाले सञ्चालन गरेको पञ्चेबाजा संरक्षण अभियानमा युवापुस्ताले पनि सहयोग गर्दै आएको बताए । समूहमार्फत काम गर्दै आएकाले यसले पुस्तान्तरण हुँदै गएको उनको बुझाइ छ । ‘कहिलेकाहीँ पञ्चेबाजाको माग धेरै ठाउँबाट एकै पटक आउने गरेको भन्दै आचार्यले पहिलोपटक हेर्न आउनेले ब्राह्मणले बाजा बजाएको देखेर अनौठो मान्नुहुन्छ’, उनले भने ।

केन्द्रका सदस्य चूडामणि खनालले बाजा बजाएबापत समूहले जिल्लाभित्र एक पटकको २५ हजार र जिल्ला बाहिर जाँदा ३० हजार लिने गरेको जानकारी दिए । उक्त रकममध्ये पाँच हजार रुपैयाँ कोषमा जम्मा गर्ने र बाँकी बाजा बजाउने समूहका सदस्यले पारिश्रमिकस्वरूप लिने गरेको उनको भनाइ छ ।