सिचाई मन्त्री चौधरीद्वारा बबईका सिचाई आयोजनाको अनुगमन

दाङ, ४ मंसिर । लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री सिता चौधरीले बबई गाउँपालिका अन्तर्गत पर्ने विभिन्न सिचाई आयोजनाहरुको अनुगमन गर्नुभएको छ । मन्त्री चौधरीले बबई गाउँपालिकामा पर्ने विभिन्न चार सिचाई आयोजनाको अनुगमन गर्नुभएको हो ।

बर्षाको समयमा क्षति भएका र प्रदेश सरकार मार्फत् निर्माण थालिएका विभिन्न सिचाई आयोजनाको अनुगमन गर्नुभएको हो । अनुगमन गर्दै मन्त्री चौधरीले सिचाई आयोजना निर्माणका लागि बजेटको कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो । मन्त्री चौधरीले बबई ५ मा रहेका ट्वाङखोला रोल्पालीतरा सिचाई जल उपभोक्ता समुहको कुलो, बबरपुर सिचाई कुलो, च्याटीखोला पुर्ब हापुरे सिचाई कुलो र बबई ७ मा रहेको मठेउरी सिचाई कुलोको अनुगमन गर्नुभएको हो ।

चार वटा कुलाले सयौँ बिगाहा जग्गामा सिचाई हुने भन्दै मन्त्री चौधरीले सबै सिचाई आयोजना सफल बनाउनका लागि बजेटको कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो । प्रदेश सरकारले प्रत्येक नागरिकको खेतबारीमा सिचाई पुर्‍याउने लक्ष्य लिएको बताउँदै मन्त्री चौधरीले बबईमा रहेका ठूलो सिचाई आयोजनालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।

अनुगमनका क्रममा जलस्रोत तथा सिचाई डिभीजन कार्यालय तुलसीपुरका प्रमुख कृष्णबहादुर बिक, बबई गाउँपालिकाका पुर्ब अध्यक्ष भुबनेश्वर पौडेल, बबई गाउँपालिकाका कार्यपालिका सदस्य नारायण परियार, नोखी डाँगीलगायत स्थानीय उपभोक्ताहरुको सहभागीता रहेको थियो ।