दाङ, ३ मंसिर । दाङ जिल्ला उद्योग वाणिज्य संघको कार्यालय घोराहीमा नाप तौल नेपालगञ्जको टोलीले शिविर शुरु गरेको छ । नापतौलका उपकरण दर्ता तथा नवीकरण गर्न टोली आएको संघका अध्यक्ष वसन्त जोशीले जानकारी दिनुभयो । उहाँले ढक तराजु जाँच गराउन व्यवसायीलाई आग्रह गर्नुभयो ।
नेपाल सरकारले नापेर वा तौलेर मात्र कारोवार हुने भनी गरेको निर्णय वा निर्देशन नमानेमा पाँचदेखि १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । स्टयान्ड नाप वा तौल ऐन बमोजिम उक्त सजाय हुने भनिएको छ । अनुगमनका क्रममा त्यस्तो नभेटियोस् भनेर संघले नापतौल शिविर चलाउन पहल गरेको अध्यक्ष जोशीले बताउनुभयो । हरेक वर्ष केही दिन शिविर चल्दै आएको छ । यस वर्ष पनि आइतबारदेखि शुरु भएको शिविर व्यवसायीको आवश्यकता अनुसार चल्ने छ ।
व्यवसायी वा व्यापारीले नापतौल उपकरण खरिद गरेको ३५ दिनभित्र अनुमति पत्र नलिएमा जरिवानादेखि जफत हुनेसम्मको कानुनी व्यवस्था छ । यसैगरी आधिकारिक विल नभएमा वा भन्सार छली ल्याएमा पनि जफत हुने व्यवस्था छ । एक हजारदेखि पाँच हजारसम्म जरिवाना हुन सक्ने भनेको छ । सरकारले अनुगमनलाई कडाइ गर्दै लगेकाले समयमै ध्यान दिन उद्योग वाणिज्य संघले आग्रह गरेको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघ र नापतौल क्षेत्रीय कार्यालय नेपालगञ्जको समन्वयमा शिविर सञ्चालनमा आएको महासचिव महेन्द्र बुढाथोकीले बताउनुभयो ।
उहाँले आफ्ना नापतौलका उपकरणहरु ढक, तराजु मिटर लिटर जाँच गराउन व्यवसायीलाई आग्रह गर्नुभयो । नयाँ खरिद गरेकाले भ्याट विलसहित र दर्ता भइसकेकाले दर्ता प्रमाणपत्रसहित उपकरण संघको कार्यालयमा ल्याउन महासचिव बुढाथोकीले आग्रह गर्नुभएको छ ।