दाङ, २० कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची भुमिकास्थान नगरपालिका वडा नं ६ खिल्जीमा सोमवार दिउसो भएको दुर्घटनामा परी घाईते भएकाहरुको उपचारमा कुनै कमी हुन नदिने बताएका छन् ।
प्युठान बाट आएको बसले तिहारको भैलोमा रमाएका भैलेहरु र दर्शकलाई ठक्कर दिएको घटनाले दुखी र स्तब्ध बनाएको उनले बताएका छन् । घटनामा घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिने मुख्यमन्त्रीले बताएका छन् । उनले दुर्घटनामा मृत्यु भएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । दुर्घटना बारे सत्य तथ्य पत्ता लगाउन समेत प्रहरी प्रशासनलाई मुख्यमन्त्री आचार्यले निर्देशन दिएका छन् । दुर्घटनामा परेर दुई जनाको मृत्यु हुनुका साथै ३३ जना घाईते भएका छन् ।