दाङ, १७ कार्तिक । समाजसेवी उपेन्द्र पौडेलको सक्रियतामा तुलसीपुर उपहानगरपालिकाको कार्यालय अगाडी जेब्राक्रस निर्माण निर्माण गरिएको छ । तुलसीपुर–७ जितपुर निवासी समाजसेवी पौडेलले व्यक्तिगत लगानीमै यात्रु सुरक्षाका लागि जेब्राक्रस निर्माण गर्नुभएको हो ।
सुतेको स्थानीय सरकारलाई उठाउन पनि नगरपालिका अगाडी जेब्राक्रस निर्माण गरिएको पौडेलले बताउनुभयो । उहाँले राज्यलाई खबरदारी गर्न बन्द हड्ताल गनुनपर्ने भन्दै रचनात्मक काम गरेर पनि जिम्मेवार सरकार बनाउन खबरदारी गर्न सकिने बताउनुभयो ।
नगरप्रमुखको दायित्व नागरिकका आधारभूत सुरक्षाको व्यवस्था गर्नु भएपनि त्यो जिम्मेवारीमा कुनै चासो नदिएकाले पनि नगरको कार्यालय अघि जेब्राक्रस बनाएको उहाँको भनाई छ ।
पौडेललाई घोराही–१६ का किशोर लोहनी, राजिव पछाइ र मीना चौधरीले पनि साथ दिनुभएको छ । जेब्राक्रस बनाउँदा स्थानीयहरूले खुशी व्यक्त गरेका छन् । समाजमा देखिने यस्ता साना तर सशक्त परिवर्तनहरूले सरकारहरूलाई जिम्मेवार बनाउन पहल गर्ने किशोर लोहनीले बताउनुभयो ।
पौडलले यसअघि घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडीबाट पनि जेब्राक्रस निर्माण गर्नुभएको थियो भने सडकका खाल्डाखुल्डी पुरेर सरकारलाई रचनात्मक ढंगले खबरदारी गर्नुभएको छ ।