डिजेल र मट्टीतेलको मूल्य घट्दा खाना पकाउने ग्यासको मूल्य ह्वात्तै बढ्यो

दाङ, १६ कात्तिक । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहान १ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैँयाले घटाएको हो । यस्तै खाना पकाउने ग्यास (एलपी)  प्रति सिलिन्डर  ५५ रुपैयाँ ७० पैसाले बढेकाे छ ।

मूल्य घटेसँगै डिजेल र मट्टितेल पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एक सय ४७ रुपैयाँ ५० पैसा, एक सय ४९ रुपैयाँ र एक सय ५०  रुपैयाँ रहेको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रुपमा तोकेको छ ।

डिजेल र मट्टितेलकाे मूल्य घटेपनि पेट्रोलकाे मूल्य  यथावतनै रहेकाे छ । पेट्राेल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि  एक सय ५८ र तेस्रो वर्गका लागि  १ सय ५९ रहेकाे छ ।

नयाँ मूल्य निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुनेछ । इण्डियन आयल कर्पोरेशन (आइओसी)बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलिमय पदार्थको मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।