दाङ, १३ कार्तिक । पाल्पामा बालिका तथा महिला हराउने क्रम बढेको छ । विगतका वर्षमा भन्दा पछिल्लो वर्षमा बालिका र महिला हराउने क्रम बढेको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७८÷७९ मा ३१ जना बालिका हराएका निवेदन प्रहरीमा परेको थियो । यस्तै आव २०७९÷८० मा २९ बालिका र आव २०८०÷८१ मा ४५ जना बालिका हराएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पछिल्लो समय मोबाइल र सामाजिक सञ्जालको प्रयोगले बालिका र महिला हराउने क्रम बढेको प्रहरीको भनाइ छ ।
सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टिकटक जस्ता प्रविधिको प्रयोगबाट चिनजान भएका युवकसँग विवाह गर्दा प्रहरीमा परिवारबाट हराएको उजुरी आउने गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दिप बेल्बासेले जानकारी दिनुभयो ।
यस्तै महिला पनि परपुरुषसँगको सम्पर्क रहेर प्रेममा परेपछि हराउने बढेका उहाँले बताउनुभयो । परिवार तथा आफन्तले प्रहरीमा हराएका भनेर निवेदन दिने सबै जसो बालिका फेला पर्ने गरेको उहाँले बताउनुभयो । परिवारलाई थाहै नहुने गरी बालिका किशोर अवस्थामा पुगेपछि सामाजिक सञ्जालको माध्यमबाट चिनजानका युवक तथा किशोरसँग विवाह गरी गएको पाइएको प्रहरीले जनाएको छ । केही परिवारले भने अन्तरजातीय विवाह गरेका जोडीलाई पनि परिवारले हराएको भनेर प्रहरीमा निवेदन दर्ता गर्ने गरेको प्रहरीले जनाएको छ ।