दाङ, १३ कार्तिक । तिहारमा अत्यावश्यक मानिने सयपत्री फूल यस पटक भारतबाट आयात नहुने भएको छ । अवैध रूपमा भित्रिने सयपत्री फूल रोक्न सरकारले निकै कडाइ गरेको छ । सरकारले नेपाल–भारत सिमानासँगै जिल्लास्थित क्वारेन्टाइन चेकपोस्टहरूमा कडाइ गरेर अवैध रूपमा भित्रिने सयपत्री फूल नष्ट गर्न थालेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थान केन्द्र, काठमाडौँ महानगरपालिका र जिल्लास्थित क्वारेन्टाइन केन्द्रका विज्ञहरूले धमाधम त्यस्ता अवैध फूल नियन्त्रणमा लिएर नष्ट गर्न थालेको हो ।
केन्द्रका सूचना अधिकारी प्रकाश पौडेलका अनुसार तीन दिन यता भारतबाट भित्रिँदै गरेका २२ ट्रक भारतीय फूल नष्ट गरिएको छ । सोमबार मात्र हेटौँडामा एक ट्रक फूल नष्ट गरिएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले फूल नेपाल ल्याउनका लागि भारत सरकारको सरोकारवाला निकायसँग सोह्र किसिमका रोगकिरा मुक्त भएको प्रमाणपत्र चाहिने सर्त राखेको छ ।
जथाभाबी विषादी प्रयोग गरेर उत्पादन गरिएका भारतीय सयपत्री फूलमा हानिकारक भाइरस र रोगकिरा रहेको विगतका अनुसन्धानले देखाएको छ । जसले नेपालमा खेती भइरहेको फूलहरूको आनुवंशिकता र फूल फुल्ने क्षमता पूरा नष्ट गर्ने उहाँले जानकारी दिनुभयो ।