दाङ, १३ कार्तिक । सल्यानमा पराल बोकेको मिनी ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा अरू ८ जना घाइते भएका छन् ।
दुर्घटनामा परी गम्भिर घाइते भएका चालक कपुरकोट–६ सिनवाङका २८ वर्षिय मान बहादुर भण्डारीको निधन भएसंगै मृत्यु हुनेको संख्या चार पुगेको हो । यसअघि कपुरकोट–६ सिनबाङकै १४ वर्षीय गोबर्द्धन खडका, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी र १३ वर्षको सिर्जना बस्नेतको मृत्यु भएको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कपुरकोट गाउँपालिका वडा नम्बर ६ सिनबाङमा दुवेदेबाट छापनेटातर्फ जाँदै गरेको रा १ ख २४०२ नम्बरको मिनिट्रक हिजो बेलुका ४ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा परेको मिनी ट्रक सडकदेखि १ सय ५० मिटर तल खसेको छ । साँघुरो बाटो भएकाले मिनी ट्रक दुर्घटनामा परेको देखिएपनि कसरी दुर्घटना भयो भन्ने नखुलेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ५ जनाको कपुरकोट अस्पताल, एक जनाको त्रिवेणी स्वास्थ्य पोलिक्लिनिक र ३ जनालाई जिल्ला बाहिर रिफर गरिएको सल्यान प्रहरीले जानकारी जनाएको छ । मिनी ट्रकमा १२ जना सवार थिए ।