दाङ, ७ कात्तिक । दाङका दुई म्यानपावर व्यवसायी युवालाई बन्धक बनाएको आरोप पछि पक्राउ परेका पूर्ववडाध्यक्षसहित पाँचै जना हिरासतमुक्त भएका छन्। जाहेरी नपरेपछि जिल्ला प्रहरी कार्यालय दाङले पाँचै जनालाई हिरासतमुक्त गरेको हो। बबई गाउँपालिका-६ का ३७ वर्षीय मोहन बुढाथोकी र तुलसीपुर उपमहानगरपालिका-१८ बिजौरीका माधव पोख्रेललाई बन्धक बनाएको आरोप लागेको थियो।
प्युठान नगरपालिका-८ का पूर्ववडाध्यक्ष तथा नमस्ते यातायात प्रालिका अध्यक्ष लिलासिंह केसी, सचिव दिलबहादुर दसौंदी, जिल्ला प्रहरी कार्यालय बाँकेको अपराध शाखामा कार्यरत प्रहरी सञ्तोष दसौंदी, प्रितम गिरी र शरद गिरीको टोली शनिबार दाङ आइपुगेको थियो। उक्त टोलीले लमही नगरपालिका-९ स्थित क्राउन होटलबाट बुढाथोकी र पोख्रेललाई बन्धक बनाएर प्युठान पुर्याएको आरोप लागेको थियो।
तर आरोप लागेपछि प्रहरीले पाँचै जनालाई र अपहरणमा परेका दुई जनालाई पनि प्युठानबाट दाङ ल्याएको थियो। तर पीडित भनिएकाहरूले पनि कार्यालयमा जाहेरी नदिएपछि पाँचै जनालाई छाडेको कार्यालयका एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिए।
कुनै पनि व्यक्तिलाई प्रहरीले २४ घण्टा भन्दा बढी हिरासतमा राख्न पाइँदैन। २४ घण्टाभन्दा बढी हिरासतमा राख्नुपरेमा अदालतमा पेश गरी म्याद थप गर्नुपर्ने कानुनी व्यवस्था छ। आइतबार नियन्त्रणमा लिइएका पाँचै जनाविरूद्ध कुनै पनि जाहेरी नपरेपछि सोमबार बिहान हिरासतमुक्त गरिएको हो।
‘उनीहरू सबैले हामीहरू पुरानै चिनजानका साथीहरू हौं र लेनदेनको कुरा आपसमा बाहिर मिलाउँछौं। मुद्दा मामिला गर्दैनौं भनेको हुँदा प्रहरीलाई अप्ठेरो परेको हो,’ एक प्रहरी अधिकारीले भने, ‘जाहेरी नपरेको हुँदा उनीहरू हिजै छुट्न सक्थे तर आजसम्म राखेपनि कसैको जाहेरी नपरेपछि प्रहरीले जोर जबरजस्ती गर्न कसरी मिल्छ?’