दाङ, ७ कात्तिक । व्यावसायिक पशुपालनतर्फ किसानको आकर्षण बढ्दै जान थालेपछि त्रिवेणी गाउँपालिकाले किसानलाई घाँसको बीउ वितरण गरेको छ । पालिकाको पशुसेवा शाखाको समन्वयमा किसानलाई वर्षिम र जै जातको घाँसको बीउ वितरण गरिएको हो ।
पशुपालन गर्दै आएका किसानका उत्पादनमा सहयोग पुगोस् भनेर गाँउपालिकाले किसान लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र सोही अभियानअन्तर्गत घाँसको बीउ वितरण गरिएको त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले बताउनुभयो । रावतले भन्नु भयो दूध र मासुमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यअनुसार काम गरिरहेका छाँै, त्यसैले दूध उत्पादन गर्ने किसानलाई अनुदान दिनुका साथै पशुपालनका लागि आवश्यक पर्ने घाँसको बीउ पनि वितरण गरेका हौँ ।”
पशुसेवा शाखा प्रमुख बसन्त रावतले दूध तथा मासुको उत्पादनलागत घटाउन उन्नत जातका घाँसको बीउ वितरण गरिएको जानकारी दिनुभयो । हिउँदे घाँसअन्तर्गत जै र वर्र्षम जातका घाँसका बीउ वितरण गरिएको उहाँको भनाई छ ।
पालिकाका १४४ किसानलाई १८० किलो बर्षिम र ६९० किलो जै घाँस वितरण गरिएको रावतको भनाई छ । कर्णाली प्रदेश सरकारको चालु आर्थिक वषएको सशर्त कार्यक्रम अन्तर्गत १ लाख ४४ हजार १५० रुपैयाँ बजेटमा घाँसको वितरण गरिएको कार्यालयले जनाएको छ ।