दाङ, ४ कार्तिक । काँकडभिट्टाबाट कपिलवस्तुको कृष्णनगर आउँदै प्रदेश १–०१–००१ ख, ३८३६ नम्बरको ‘रोयल झापा’ नाम गरेको बसमा हराएको ३ लाख ४ हजार ७ सय नगद र सुन औंठीसहित सामान प्रहरीले फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।
गुल्मी चन्द्रकोट नगरपालिका–८ बस्ने झबिन्द्रबहादुर सुवेदीको श्रीमती प्रियंका थापा सुवेदी गत असोज ३० काँकडभिट्टाबाट आउँदै गर्दा नगद औंठी नागरिकता सुनको औंठी, क्रेडिट कार्ड र नागरिकतासहित सामान रहेको झोला बस मै छुटेको थियो ।
नगदसहितको झोला बसमा छुटेको जानकारी प्रियंकाले वडा प्रहरी कार्यालय, चन्द्रौटामा कार्तिक १ मा जानकारी गराएकी थिइन् । प्रहरीले अनुसन्धान र खोजबिन गर्दा उक्त झोलासहितको नगद दिनभरि लगाएर खोजेको थियो । प्रियंका र उनी आमा बसबाट कपिलवस्तुको बोर्ड गाउँमा ओर्लिएका थिए ।
पिसाबले च्यापेर अतालिएकी उनी ओर्लिने बेला बसमा छुटेको थियो । बोर्डगाउँसम्म बसमा ६ यात्रु थिए । त्यसमा दुई जना पछि र चार जना अघि थिए । पछि बसेका दुईमध्ये एक जनाले उक्त झोलासहितको नगद लिएर झरेका पत्ता लागेपछि अनुसन्धान सुरु गरेर सफलता हात लागेको वडा प्रहरी कार्यालयका नायब निरट्ठक्षक नवराज शालीले बताए ।
शिवराज नगरपालिका–६ का बसीर चुरैटाले झोला लगेका थिए । प्रहरीसँग सपर्कमा आएपछि उनले नगद दिएका थिए । नगद आफूले लगेर झोला बाटोमा फालिदिएका थिए । पछि प्रहरी गरेर खोजेर झोला पनि बरामद गरेको थियो । झोलामा पौने तोलको सुनको औंठी, नागरिकता, परिचय पत्र, एटीएम कार्ड रहेको थियो । रोजगारीको सिलसिलामा भारतको सिक्किम बस्ने उनी गर्भवती भएपछि सुत्केरीका लागि माइती आएकी हुन् । प्रहरीको सहयोगमा झोला सहितको नगद पाउन सफल भएपछि प्रहरीको कामको प्रशंसा गरेकी छिन् ।