दाङ, ३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा शनिबार दाङलगायत देशैभर प्रदर्शन गर्ने भएको छ। सहकारीको रकम हिनामिना प्रकरणमा सभापति लामिछाने पक्राउ परेपछि आज रास्वपाले देशैभर प्रदर्शन गर्न लागेको हो।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अनाधिकृत रुपमा गोरखा मिडिया नेटवर्कमा ल्याएको संसदीय विशेष छानविन समितिको प्रतिवेदनमा उल्लेख गरेपछि रवि शुक्रबार काठमाडौँबाट पक्राउ परेका हुन्।
सडकमार्ग हुँदै उनलाई शनिबार बिहानपख कास्की ल्याइएको छ। उनी अहिले कास्की प्रहरीको हिरासतमा रहेका छन्। पोखरामा बिहान ११ बजे मानव अधिकारचोकमा विरोधको कार्यक्रम हुने केन्द्रीय जनसम्पर्क विभागको सदस्य उत्तम पोखरेलले जानकारी दिए। रास्वपा गण्डकी र कास्कीले विरोध कार्यक्रमको आयोजना गरेका हुन्।