दाङ, ३ कार्तिक । घोराही उपमहानगरपालिका वडा नं. १७ को आयोजनामा वडाध्यक्ष रनिङ कप पुरुष तथा महिला फुटबल प्रतियोगिता शुरु भएको छ ।
वडास्तरीय खेलकूद विकास समितिका संयोजक दुर्गा खत्रीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यतामा प्रतियोगिता उद्घाटन गरिएको हो । असोज १० गतेसम्म चल्ने प्रतियोगितामा वडाका १६ वटा पुरुष समूह र ६ वटा महिला समूहबीच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ समूह ए मा समाजसेवा टोल, सहयोगी टोल, उज्ज्वल टोल, ओखरा टोल, घनिबगिया टोल, पचुर्खा टोल, गुलरिया टोल र गैरागाउँ टोल छन् भने समूह वी मा लक्ष्मी टोल, कोपिला टोल, जनज्योति टोल, हरिद्वार टोल, कटही टोल, श्रीकृष्ण टोल, मखमली टोल र लोकतान्त्रिक टोल सहभागी छन् । यस्तै महिला फुटबलतर्फ समूह ए मा श्रीकृष्ण टोल, लक्ष्मी टोल र ओखरा टोल तथा समूह बी मा सहयोगी टोल, क्वाडी टोल र कटही टोल सहभागी छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि हुमा डिसीले खेलको माध्यमबाट उपमहानगरलाई चिनाउने काम खेलाडीहरुले गरेको भन्दै टोलबाटै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सकिने बताउनुभयो । उहाँले खेलले व्यक्तिलाई अनुशासित बनाउने भन्दै व्यक्तिगत स्वास्थ्य र तन्दुरुस्तीमा समेत टेवा पुग्ने बताउनुभयो । सो अवसरमा घोराही–१७ का अध्यक्ष रामलौटन चौधरी र घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख नारायणप्रसाद पौडेलले शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने समूहले २५ हजार, द्वितीय हुनेले १२ हजार तथा महिलातर्फ प्रथम हुनेले १५ हजार तथा द्वितीय हुनेले आठ हजार पुरस्कार पाउनेछन् । वडा खेलकुद विकास समितिका सल्लाहकार हरिबहादुर घर्तीले प्रतियोगिताभर खेलाडीलाई पानी उपलव्ध गराउनुहुने भएको छ भने खेलप्रेमी घोराही–१७ का दीर्घराज विष्टले प्रतियोगिताका लागि तीनवटा फुटवल उपलव्ध गराउनुभएको छ । यसैबीच उद्घाटन खेलमा ओखरा टोललाई हराउँदै उज्ज्वल टोल विजयी भएको छ । ओखरा १ र उज्ज्वल टोलले २ गोल गरेका थिए । यस्तै महिलातर्फ ढिकपुर टोललाई ० का विरुद्ध दुई गोल गर्दै क्वाडी टोल विजयी भएको छ । शनिबार बिहान समाजसेवा र सहयोगी टोल तथा दिउँसो लक्ष्मी टोल र कोपिला तथा महिलातर्फ साँझ श्रीकृष्ण टोल र लक्ष्मी टोलबीच प्रतिस्पर्धा हुनेछ ।युगबोधबाट