रुकुम पूर्व, ३० साउन । साबिकको बाटोमा पहिरो झरेपछि डोरीको सहारामा आवतजावत गर्नुपर्ने रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१४ स्थित भालुकाप्चेको भीरमा सामान्य पैदल हिँड्न मिल्ने गोरेटो बाटो बनाइएको छ ।
स्थानीय निर्माण व्यवसायी नरहरि खड्काको आर्थिक सहयोगमा स्थानीयले सक्रियता जनाएपछि पैदल हिँड्न मिल्ने बाटो खोस्रेर बनाइएको हो । एक महिनाअघि माथिबाट पहिरो झरेपछि वैकल्पिक रूपमा बाटो बनाउन सकिने सम्भावना भए पनि आर्थिक अभावका कारण सुरुमा सामान्य डोरी लगाएर बाटो बनाएको सिस्ने–२ का दीपक केसीले बताए । ‘बाटो भत्किने बित्तिकै सरकारसँग हारगुहार गर्यौं,’ उनले भने, ‘त्यहाँबाट सुनुवाइ नभएपछि हाम्रै गाउँका निर्माण व्यवसायी खड्काले सहयोग गर्ने वाचा गर्नुभयो ।’
स्थानीय युवा र कामदारलाई दैनिक ज्यालामा परिचालन गरेर करिब एक साताको मिहिनेतपश्चात् पहिलेको भन्दा सजिलो बाटो बनाएको पनि केसीले बताए । आफ्नै गाउँ जाने बाटो भत्किएको र सर्वसाधारणले दुःख पाएको देख्न नसकेर आफूले सहयोग गरेको स्थानीय निर्माण व्यवसायी खड्काको भनाइ छ । ‘करिब २ लाख लगानीमा बाटो बनाउन सहयोग गरें,’ उनले भने, ‘खास त सरकारले बनाउनुपर्ने हो । तर सरकारकै मात्र भर परेर समस्या समाधान हुने नदेखेपछि स्थानीयको अनुरोधमा मैले आँट देखाएको हुँ ।’
यस स्थानमा पहिरो झर्दा करिब ८ सय मिटर साबिकको बाटो हिँड्न मिल्ने अवस्थामा छैन । तल उर्लिएको सानीभेरी नदी र आँखै घुम्ने भीरमा अब भने अलि सजिलो भएको अर्का स्थानीय प्रेमसिंह परियारले बताए । ‘घर–घरबाट गैंटी, बेल्चा र कुटो–कोदालो ल्याएर जोखिम मोलेर बाटो बनायौं,’ उनले भने, ‘बाटो पूरै बनाउन नसके पनि तत्काललाई पैतला अड्याउनेसम्म भएको छ ।’
जिल्ला सदरमुकाम रुकुमकोटबाट देउखोलासम्म गाडी आउने बाटो भए पनि त्यसभन्दा माथि भने हिँड्ने बाटो जोखिमपूर्ण छ । अहिले जसोतसो मान्छे आवतजावत गर्न मिल्ने बाटो बनेको भए पनि घोडा–खच्चड जान नसक्ने भएकाले यसभन्दा माथि रहेका सिस्नेका वडा १ र २ तथा पुथाउत्तरगंगा गाउँपालिकाका ७, ८, ९ र १४ का बासिन्दालाई दैनिक उपभोग्य सामान ओसारपसारमा समस्या भएको छ ।
सिस्ने–१ की विष्णुकुमारी बुढाले भनिन्, ‘हामी त जसोतसो हिँडौला । तर नुन–तेल, दाल–चामल पो कसरी घरसम्म पुर्याउने हो ?’ देउखोलादेखि पुथाउत्तरगंगाकै त्रिवेणीसम्म पक्की सडक बनाउन २०७५ सालमा पीएस शंकरमाली जेभीले कामको जिम्मा लिएको भए पनि ६ वर्षसम्म सडकको अपेक्षित प्रगति नहुँदा गत असारमा उक्त ठेक्का तोडिएको थियो ।
अब विगतको समीक्षा गर्दै तत्काल नयाँ ठेक्का लगाएर सडक निर्माणलाई गति दिनुपर्ने भन्दै यसका लागि सबै गम्भीर हुनुपर्ने सिस्ने–२ का निवर्तमान वडाध्यक्ष जीवन केसीले बताए । ‘यसअघिका ठेकेदारले समयमै काम सकेको भए अहिले गाउँसम्म गाडी पुग्थ्यो । तर त्यो सडकको त परको कुरा हामीलाई त पैदल नै आवतजावत गर्न मुस्किल भयो,’ उनले भने, ‘विगतको हाम्रो प्रयासले परिणाम दिन सकेन । तर अब सधैं यसरी चल्दैन । सडक बनाउने र यहाँका जनमनको दैनिकीलाई सहज बनाउने कुरामा सबै गम्भीर हुन जरुरी छ ।’