रुकुमपूर्वमा २४ कठ्ठामा लगाएको अफिम खेती प्रहरीद्धारा नष्ट

रुकुम, ११ बैशाख । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ५ मा अवैध रुपमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको छ । वडा नम्बर ५ को खुरातीबाङ क्षेत्रमा करिब अन्दाजि २४ कठ्ठा जमिनमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ ।

त्यहाँ प्रहरीचौकी हुकामका इन्चार्ज केशबहादुर सार्कीको नेतृत्वमा गएको हुकाम र मैकोटको प्रहरी टोलीले अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी नायव उपरिक्षक प्रकाश डाँगीले बताउनुभयो ।

Blog Post Ad

खुरातीबाङ क्षेत्रको ऐलानी जग्गामा अफिम खेती गरिरहेको गोप्य सुचनाको आधारमा प्रहरीले अफिम खेती नष्ट गरेको हो । खेती गर्ने मान्छे भने पहिचान गर्न नसकिएको डिएसपी डाँगीले बताउनुभयो । प्रहरीले अहिले अभियानकै रुपमा अफिम खेती नष्ट अभियान चलाइरहेको पनि उहाँले बताउनुभयो ।

Blog Post Ad

जिल्लाको माथील्लो क्षेत्रमा मानिसहरुले ऐलानी जग्गामा अफिम खेती गर्दै आएका छन् । व्यक्तिको जग्गामा खेती गर्दा पक्राउ पर्ने डरले सार्वजनिक जग्गामा अफिम खेती गर्ने मानिसहरुको प्रवृत्तीले गर्दा खेती गर्ने मानिसको पहिचान गर्न मुस्किल हुने गरेको प्रहरीले बताएको छ ।

अहिले जिल्लाको अन्य ठाउँमा पनि अफिम खेती भइरहेको भन्ने सुचना प्राप्त भएकाले ती ठाउँमा पनि अफिम खेती नष्ट गर्ने तयारी भइरहेको डिएसपी डाँगीले बताउनुभएको छ । रुकुम(पूर्व) मा वर्षेणी अफिम खेती प्रहरीले नष्ट गर्दै आएपनि खेती गर्ने मानिस भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।