Ad Area Ad Area
Ad Area
Ad Area

जलजलाको गुराँसमा अझै रगतका छिर्का छन्

नविन अभिलाषी

अठार वर्षकी थिइन् चुनु गुरुङ। २०५८ साल मंसिर १४ गते कास्की ब्यारेकभित्र उनलाई गोली दागेर मारियो। त्यसको अदृश्य कारण थियो– प्रेम। एउटा यस्तो अद्वितिय प्रेम, जसले परिवर्तनको सपना देख्दछ। र, त्यो अभूतपर्व प्रेम थियो जलजलासँगको। यो प्रेमको एउटा निशान छोडिएको छ।

Blog Post Ad

तिम्रो निम्ति बरु यो ज्यान गए गैजाला
तिमीसँग गहिरो माया बस्यो जलजला।।

Blog Post Ad

यी शब्दहरु उन्ने, संगीतको परिकल्पना गर्ने र आफ्नो मधुर लयद्वारा परिवर्तनको विगुल फुक्ने उनै चुनु गुरुङ थिइन्। चुनु गुरुङले २०५८ सालअघि भनेको, गाएको र बताएको जलजला अहिले कस्तो छ?

यतिबेला जलजलाको पहाड गुराँसको पछ्यौभित्र लुकेर उदाङ्गो आकाश चिहाइरहेको छ। तर यस्तो पनि लाग्छ, प्रत्येक वर्ष मुस्कुराउने गुराँसका पुष्पदलमा चुनु गुरुङजस्तै योद्धाहरुको रगतका छिर्काहरु छन्, दागहरु छन्। धरमपानीको डाँडा भएर अनवरत बगिरहने त्यो हावामा सुसाइरहेको छ जलजला। धरमपानीको उकालो चढेपनि आफ्नै सम्भावनाको अर्को उकालो चढ्न नसकी खुइ…य गरिरहेको छ।

Blog Post Ad

जलजलामा अनेक गुराँसहरुले पैसेँरु नाच्छन्, बुकी फूलहरुको गलैँचामा थवाङ्गी चिसो हावाले परेड खेल्ने पाटन मात्र होइन यो जलजला, हालका उपराष्ट्रपति नन्दबहादुर पुन उर्फ नन्दकिशोर पुन पासाङको कमाण्डमा मौसम रोका मगरहरुले परेड खेलेको मैदान पनि हो। मौसम रोका नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष समेत हुन्।

Blog Post Ad

साँच्चै यो जलजला के हो?
आउनुहोस् म तपाईंलाई जलजलाबारे बताउँछु। जलजलासम्मकोे यात्रामा लैजान्छु।

गुराँसको पहाडमा थाकेका पैतालाहरु म फुक्काफाल घुम्न मन पराउने, चाहने तर नपाउने मानिस हुँ। तर खै कुन संयोग या सम्बन्धले म जलजला दोस्रो पटक पुगेँ। पहिलो यात्रा विछट्टै कष्ट र तीव्र रोमाञ्चकपूर्ण छ। संयोग यस्तो भइइदियो कि दुवै पटक कवि विष्णु सन्यासको साथ लागेर म जलजला टेकेँ।

यसपटकको सन्दर्भ हो ‘जलजला गुराँस मेला २०७९।’ जेलवाङमा रहेको गेमी होमस्टेले आयोजना गरेको एक दिने साहित्यिक कार्यक्रमको निम्तो पाएपछि अघिल्लो दिन बिहानै उदाउँदो सूर्यको पछि लागेर यात्रा सुरु गयौँ।

एउटा जीपले हामीलाई सदरमुकाम लिवाङबाट धाङ्सी खोला, पेवा गाउँ हुँदै स्यार्केसम्म पुर्याएर ओराल्यो। निर्माणाधिन सडक छोड्नुपर्ने भयो र सुरु गर्नुपर्ने भयो, टे«किङ रुट। झोलामा पानीका बोतल राखेर हामी उकालो चढ्यौँ।

यो ट्रेकिङको गाइड थिए पृथिवी पुन र पूर्ण बुढा मगर। पृथिवी पुन भारतका केहि हिमालदेखि नेपालको अन्नपूर्ण बेस क्याम्प क्षेत्रका विभिन्न टे«किङ रुटमा गाइड भएर १२ वर्षदेखि काम गरेका व्यक्ति हुन्।

२५५० मिटरको उचाइको गामधारा पुग्दा नपुग्दै हाम्रो अनुहारमा थकानका रेखाहरु कुद्न थालिसकेका थिए। विश्राम लियौँ। यो गामधारा युद्धको समयमा तत्कालिन माओवादीले गुरिल्ला टे«निङ गरेको ठाउँ हो। यस ठाउँलाई स्थानीय सरकारले जलजला टे«किङ रुटभित्र पारेको मात्र छैन, त्यहाँको अवशेषलाई मर्मत तथा पुनर्निर्माण गरेर गुरिल्ला टे«निङमा आवश्यक पर्ने संरचनाहरु समेत तयार गरेको छ। झट्ट हेर्दा आश्चर्य लाग्छ र युद्धभूमिको झल्को दिन्छ।

यो जलजला पुग्ने सबै भन्दा लामो रुट हो। गुराँसका फूलहरु झरेर राताम्मे बनेको घना जंगलको ठाडो उकालो चढ्नु कम कष्टपूर्ण लाग्दैन। गामधारापछिको उकालो चढ्दै गएपछि एउटा भञ्ज्याङ आउछ। जसको नाम हो ओखरेनी। यो सानो गाउँमा मानिसहरु खेतिपातीको समय बस्ने र बाँकी समय सदरमुकाम झर्ने गर्दा रहेछन्। यतिबेला गाउँलेहरु बारीमा आलु रोपेर झरेकाले गाउँ सुनसान थियो। तर आयोजकले व्यवस्था गरे अनुसार त्यहाँ भाङको अचारसँग हामीले उसिनेको आलुले छाक टार्यौँ। विशुद्ध प्राङ्गारीक मल हालेर उत्पादन गरिएको आलु निक्कै मिठो लाग्यो हामीलाई।

त्यसपछिको उकालो यात्रा झन् कष्टपूर्ण हुँदै जान्छ। विभिन्न रंगहरुमा पहाडै छोप्ने गरी फुलेका गुराँसले आँखा त तान्छ, तर थकान र अप्ठ्यारो बाटोले सशंकित बनाउँदै रहन्छ। ठाउँठाउँको भीर र पहरा छिचोल्नु, ढुङ्ग्यानी साँघुरो सडकमा हिँड्नु पहाडको बाटो नहिँडेका मानिसहरुका लागि आफैंमा गाह्रो हो। त्यो भन्दा गाह्रो धरमपानीको पहाड उक्लनुमा छ। जहाँ कुनै बाटो छैन, ठाडै उकालो भीरमा पानीले बनाएको थप्केनामा पाइलाहरु राख्दै दुई हातले बुकीहरु समात्दै उक्लनुपर्छ। हामी उक्लियौँ।

त्यो कष्टपूर्ण उकालो सकिएपछि नेटो आउँछ, जहाँ चिसो हावाले शरीरमा काँडाहरु उमार्छ। जसलाई धरमपानी भन्छन्। धरमपानीबाट झण्डै एक किलोमिटर उत्तरपूर्वमा अर्को पहाड छ, जसको उचाइ झण्डै ३५७६ मिटर छ। यहि पहाडमा सिज स्तम्भ निर्माण गरिएको छ। तत्कालिन युद्धको समयमा माओवादीले निर्माण गरेको त्रिकोणात्मक स्तम्भ शाही नेपाली सेनाले भत्काएको पनि थियो। तर पछि फेरी पाँचकुने आकारमा यो स्तम्भको निर्माण गरिएको छ। स्तम्भको नजिकै सुरुङ्ग बनाएर माओबादीले रेडियो जनगणतन्त्र चलाएको थियो।

धरमपानीको नेटो काटेर दुई घण्टा तेर्सो बाटो हिँडेपछि जलजलाको आकाश खुल्छ। यो यात्रामा जति जति उचाइ टेक्यो त्यति नै मनमोहक गुराँस फूलहरुको स्वागत मिल्छ। तर हामी पुग्दा बेलुका भैसकेको थियो। थाकेका खुट्टाहरुले अँध्यारोमै भए पनि जलजला टेकेपछि आनन्दानुभूतिको भाव सञ्चार भयो।

जलजलाः सौन्दर्य नष्टीकरणको जोखिम
त्यो साँझ वर्षको अन्तिम थियो। गुराँसका गुच्छाहरुले स्वागत मात्र भएन। मध्यरातमा डोकाको डोका गुराँसका फूलहरु उडाएर हामीले नयाँ वर्षको स्वागत गर्यौँ।

नयाँ वर्षको विहान ‘जलजला गुराँस मेला २०७९’ शुभारम्भ भयो। पहिलो सेसन ‘जलजलासँग जलजला’ बहसमा म सहजकर्ताको रुपमा उभिएँ। वक्तामा थिए, नेपाल मगर संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष तथा पहिचान आन्दोलनका अभियन्ता धनबहादुर पुन कृतिमान, परिवर्तन गाउँपालिका उपाध्यक्ष हितकुमारी बुढा मगर र नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष मौसम रोका मगर।

मेरो उद्देश्य दुई वटा मात्र थियो, जलजलालाई प्राकृतिक सौन्दर्य तथा ऐतिहासिक मान्यताको नष्टिकरण हुनबाट कसरी जोगाउने र सम्भावनाको आयामहरु खोतल्ने। त्यसक्रममा पहिचान आन्दोलनका अभियन्ता कृतिमानले जलजलालाई मानव उत्पत्तिको सन्दर्भसँग जोडे। जलजलामा एउटा भामापुप नामको गुफा छ, जहाँबाट मगर समुदायको पुर्खा १२ बराह र २२ बजु उत्पत्ति भएको ठाउँ मानिन्छ। मगर समुदायको उत्पति भएको विषय अब किंबदन्तीमा मात्र सीमित नराखेर यसको वैज्ञानिक आधारहरुको खोज अनुसन्धान र अन्वेषण गर्न कृतिमानलाई जरुरी लागेको छ।

भनिन्छ जलजलाको पहाडहरुमा १४ प्रकारका गुराँस फूल्छन्। कतिले २२ देखि २४ प्रकारका गुराँस पाइने स्थान भनेर पनि लेखेको पाइएको छ। यो पाटनमा हजारौँ प्रकारका जडिबुटीहरुको खानी छ। यहि जलजलाको मुहानबाट लुङग्री र माडी नदि सहित २९ वटा खोलानालाहरुको सुरुवात हुने कुरा विभिन्न अध्ययनले देखाएको छ। तर यसका अनेक सम्भावना बारे अहिलेसम्म कुनै वस्तुगत योजना आयोजनाहरुको सुरुआत गर्न सकिएको छैन।

यस्तो हुनुको कारण पत्रकार मौसम रोकालाई थवाङ, जेलवाङमा राज्यको उपस्थिती नहुनु हो जस्तो लाग्छ। राज्यको उपस्थिती टाढाको कुरा, पञ्चायत अगाडि देखि नै थवाङ सिंगो राज्यको प्रतिपक्षमा उभिएको भूगोल भएकाले राज्यले नै यो क्षेत्रको विकासमा नियोजित रुपमा सहयोग नगरेको कैयौँ इतिहास अहिले मिथक र किंवदन्तीमा रुपान्तरण हुन थालेका छन्। विकासको त्यति भोकले छटपटाएको यो भूगोलले विस २०१३ सालमै जनकम्युन निर्माण गरेको थियो।

तर विडम्वना जस्तो तत्कालिन माओबादी युद्ध–आन्दोलनको उभारबाट उदाएका केहि जनप्रतिनिधिले सोचे जस्तो विकास गर्न सकेनन्। परिवर्तन गर्न ल्याउन सकेनन्। परिवर्तन गाउँपालिकाको उपप्रमुख भएर काम गर्दाको अनुभवमा पनि हितकुमारी बुढा मगरलाई जुन सिद्धान्त र कार्यक्रम लिएर स्थानीय सत्तामा पुगेकि थिइन्। पाँच वर्षे कार्यकाल सकिँदासम्म त्यो कतै नमिलेको महसुस भयो। विकासको नाममा बाटो र भवनहरु मात्र बनाउँदा विकासका धेरै आयामहरु छुटेको जनप्रतिनिधि हितकुमारीलाई लाग्दो रहेछ।

रोल्पाको सातदोवाटोमा बनेको भ्यूटावरले देशदेशावर विकासको मोडलबारे एक खाले बहस सिर्जना गर्यो। जलजला जस्तो अग्लो चुचुरामा पुग्दा पनि भ्यूटावर देखियो। जलजलाको बीचभाग जहाँ असारमा बुकि फूलहरु मुस्कुराउँछन्, त्यहाँ ठूला भवन बनेछन्। कतै तलाउ खनिएका। विकास र सुविधाको सोचले जलजलाको मौलिक संरचना र सौन्दर्य नष्ट गर्ने कार्य सुरु भैसकेको छ।

नेपाल भ्रमण वर्ष २०२० मा नेपाल सरकारले एक सय गन्तव्यको सूचीमा राखेको जलजला माओवादी जनयुद्वकालमा आफ्नो सुरक्षित र आधार इलाकाका रुपमा मानिएको थियो। जलजलामा वैशाख, जेठ र साउने पूर्णिमामा मेला लाग्छ। यी मेलामा सैयौँ भेडा र कुखुराको बलि दिएर बराह पुज्ने चलन छ। यसले मनोकांक्षा पूरा हुने जनविश्वास छ।

उत्तरतिर सिस्ने हिमाल, पुथा र धौलागिरी हिमश्रृंखलाका मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ। जंगली जनावर, चराचुरुंगी, फूल र वनस्पतिको संरक्षणका लागि संरक्षण क्षेत्र बनाउने सरकारको योजना बारे धनबहादुर पुनहरु असन्तुष्ट छन्।

जलजलालाई व्यावसायिक पर्यटकीय गन्तब्य बनाउन पृथिवि पुन जस्ता व्यक्तिहरु लागिपरेको देखिन्छ। जलजलाले वर्षमा तीन वटा रुप परिवर्तन गर्छ। चैत वैशाखमा गुराँसले छोपिने जलजला असार लागेपछि बुकी फूलहरुले बेहुली बन्छ। त्यो समयमा सैयौँ फूलहरुले पाटनमा गलैँचा बिच्छ्याएको अनुभव हुन्छ भने पुस माघको महिना भर नै हिँउले ढाकिन्छ।

गएको हिँउदमा पर्यटन व्यवसायी पृथिवी पुनले पहिलो पटक हेलि टुरको सम्भावनालाई सार्थक बनाए। जलजलामा सदरमुकाम लिबाङदेखि पहिलोपटक व्यावसायिक हेली टुर गरेर आन्तरिक पर्यटकहरु जलजलाको हिउँमा रमाउन पुग्नेको भिड नै भएपछि पृथिवीलाई यो कार्य हरेक वर्ष सञ्चालन गनुपर्छ भन्ने लागेको छ।

लिबाङ–जलजला–कोठेभिरलाई पनि जोडेर करिब डेढ घण्टा जलजलाको सौन्दर्यमा रमाउन सक्ने गरी प्याकेज निर्माण भएको छ। कोठेभीर सुनछहरी गाउँपालिका २ को भित्री गाउँ समुन्द्री सतहबाट ३ हजार ६ सय ४० मिटरको उचाइमा पर्छ।

क्रान्तिको कान्तिपूर्ण लय
कल्पना नै गरेको मान्छे मोहित श्रेष्ठसँग लिवाङको कल्पना होटलको एक कोठामा भेट भयो। त्यो रात हामी रुममेट भयौँ। जनवादी गायक श्रेष्ठले शरीरमा काँडा उमार्ने, रगत उमाल्ने गीत गाएका छन्। त्यो संयोगले मलाई हर्षित बनायो।

कसले भन्छ क्रान्ति यहाँ सफल हुँदैन
कसले भन्छ योद्धाहरुको जीत हुँदैन
एक दुई हार हुन सक्छ तर मुटु स्पात बन्छ
वीरहरुको मुटुभित्र संसार फेर्ने साहस हुन्छ

यो गीतले मौसमलाई क्रान्तिकारीको भिडहरुमा सेलिव्रेटी मात्र बनाएन, जनवादी गायकको रुपमा दर्ज गरायो। मौसम रोका मगरसँगै जलजलामा परेड खेलेर छापामार बनेका मोहित पछि सामना सांस्कृतिक परिवारमार्फत माओवादीको जनवादी गायकको रुपमा आफूलाई चर्चित बनाए। अहिले सबै भूमिकाबाट टाढा आम नागरिकको जीवन बिताइरहेका छन्। तर मोहितको आवाजबाट अहिले पनि उनै रगत उमाल्ने गीतहरु विलुप्त भैसकेको छैन।

जनवादी गायक मोहित जलजला उक्लेर फेरी उनै गीतहरु गाए।

भेटेर तिमीलाई सोधुँ सोधुँ लाग्यो
लेखेर तिम्रो गीत गाउँ गाउँ लाग्यो
प्यारो जलजला, प्यारो जलजला।।

युद्धको प्रतिक जलजलामा उभिएर मणि थापाको शब्दहरुमा मोहित र पवि पुनले दिएको स्वरले एउटा सन्नाटा चल्यो। यस्ता गीतहरुले रोल्पालीलाई मात्र हैन जो कोहिलाई पनि भावशून्य बनाइदिन्छ। ‘जलजला गुराँस मेला २०७९’मा मोहितको सेसन थियो गीतहरुमा जलजला। मोहितले क्रान्तिका गीतहरु मात्र गाएनन्, लाली गुराँसको आँगनमा उभिएर नारायण गोपालको ‘म त लाली गुराँस भएछु’ भन्ने भावमा समेत अटाए।

आयोजकले देशभरका एक दर्जन कविलाई जलजला उकालेको थियो। कविहरुले गुराँसलाई पार्श्वमा राखेर कवितामा लय मिसाए। कविहरु रोल्पाको करेशामा उभिँदा भावुकता महसुस गर्छन्, युद्धको ऐना हेरेको अनुभूति गर्छन्। त्यसमध्ये एउटा कविता छ कवि प्रेम प्रकाशको।।

युद्ध
………………………………
जाँदाजाँदै
उद्घोष गरेर भनेको थियो उसले,
म एक युद्ध हुँ।

हेर्दाहेर्दै
उसले खुकुलो पार्यो समयको लगाम
घचेटी–घचेटी दौडाउन खोज्यो घोडा
लक्ष्य उसैले बुझेको थियो होला
जानेको थियो होला गन्तव्य उसैले।

सायद
फिर्ती– सम्भव र असम्भव दुवै हुनसक्छ,
पछिसम्म आँखाहरू
उभिएका थिए –
दिशाहीन उही सातदोबाटोहरूमा।

बन्द गरेर आँखा
मैले एक निमेषका लागि सोचेको थिएँ–
जीवनका पूर्णविरामहरू जित्न
लडेर मात्र हुँदैन– जित्नैपर्ने हुन्छ युद्ध।

खुल्नासाथ आँखा
एकैछिन गहिरिएर सोचेको थिएँ–
समयको दौडमा ‘कुन युद्ध होला ऊ’ ?
जसले झस्काइरहन्छ हररात– सपना भएर
जसले चस्काइरहन्छ हरबिहान– विपना भएर।

फूलले त्याग्न सक्दैन कोमलता
फूलले मास्न सक्दैन समर्पण
तब फुलेका छन्
पहाडको फेदमा लाखौं गुराँसहरू।

समयको अन्तरालमा
भत्काएर गुराँसहरूको बगैंचा
बनाइँदैछ भत्किरहने बाटो
जुन बाटो भएर परदेश जानेहरू रुन्छन्
जुन बाटोमा धुलोको शिरफूल लगाएर
पर्खि बस्नेहरू पनि रोइरहन्छन्।

अब हिँडेर त्यही बाटो
कसरी पुगिन्छ प्राचीन बस्तीका मनसम्म ?
नापेर भ्यू टावरको उचाइ
कसरी निर्माण हुन्छ रक्तिम सपनाको इतिहास ?

र आफूलाई युद्ध घोषित गर्नेले
कसरी सोच्दै होला –
कि, विचारको युद्ध जित्न
त्यति सजिलो छैन भनेर।
-कवि प्रेम प्रकाश

Ad Area