Ad Area Ad Area
Ad Area
Ad Area

अभावको बीचमा बसेरी गाउँ

दाङ, २६ चैत । घोराही–लमही सडक खण्डको मसोटबाट पश्चिम जंगलभित्र पर्ने बसेरी, बराचौर, सिदुरेलगायत गाउँमा सेवा सुविधाको अभाव छ। घोराहीको विकट गाउँ मात्र होइन वडा नै विकट मानिने १९ नं. वडा हो। जुन पहिलेको सैघा हो।

यो वडा पहाडी क्षेत्रमा पर्ने भएकाले पनि विकट छ र यो वडा अभावको बीचमा छ भन्ने विषयमा दाङबासी नै जानकार छन्।

Blog Post Ad

तर, घोराहीको वडा नं. ५ मा विकट बस्ती छ भन्ने सायदैलाई थाहा छ होला। साविकको धर्ना गा.वि.स. (बबई पारी) पूरैलाई वडा नं. ५ बनाइएको छ। जसमध्ये ठूलो भू(भाग धर्ना नामले चिनिने गाउँका नागरिक उपमहानगरको सेवा सुविधाको पहुँचमा छन्।

Blog Post Ad

तर, वडा नं. ५ अन्तर्गतका बसेरी, बराचौर, सिदुरे, गुरुङखुटी तथा यी गाउँको पश्चिममा रहेको रज्यमन्नामेलगायत गाउँ उपमहानगरको सेवा सुविधाको पहुँचभन्दा बहिर छन्। रज्यमन्नामे गाउँभन्दा अझ सेवा सुविधाको अभावमा बसेरी क्षेत्रका नागरिक छन्।

रज्यमन्नामे गाउँमा विद्युतको पहुँच पुगिसकेको छ। फोनले काम गर्छ। सडक केही वर्ष पहिले नै पुगेको हो। तर, बसेरी क्षेत्रमा विद्युत पुगेको छैन। स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि भने यस क्षेत्रमा सडक र खानेपानीको सेवा भने विस्तार भएको छ।

Blog Post Ad

बसेरी, सिदुरेलगायत गाउँमा ३५ घर बढी बस्ने गर्दछन। यस क्षेत्रमा अहिले पनि फोन गर्न डाँडामा पुग्नपर्ने समस्या छ। स्काई नेटवर्कले मात्र गाउँ क्षेत्रमा काम गर्ने गरेको टोल अध्यक्षसमेत रहेका स्थानीय पुनले बताउनुभयो।

Blog Post Ad

सडक पुगेको भए पनि नियमित गाडी भने चल्दैन। गाउँमा कुनै सामान ढुवानी गर्नु परेमा रिजर्बमा गाडी लग्नुपर्ने अवस्था छ। शिक्षाको पहुँचको अवस्था निकै दयनीय नै छ। कक्षा ३ सम्म मात्र गाउँमा पढाई हुन्छ। त्यसपछि करिब १ घण्टा बढीको यात्रा गरेर मसोट क्षेत्रमा रहेको विद्यालयमा पढ्न आउनुपर्छ।

नत्र लमही बजार, घोराही, नारायणपुरको विद्यालयमा कोठा भाडा लिएर पढ्नुपर्ने अवस्था छ। गाउँमा पढाइ नहुने भएपछि अधिकांशले पढाइ छाड्नुपर्ने बाध्यता रहेको स्थानीय कृष्णबहादुर विकले बताउनुभयो।

‘सबैले अभिभावकसहित कोठा लिएर पढाउने सक्ने अवस्था छैन। साना बालबालिकालाई एक घण्टा बढी जंगलको बाटोमा हिँडाउनु पनि भएन,’ उहाँले भन्नुभयो, ‘त्यसैले धेरैको पढाई रोकिने गरेको छ।’

पूर्ण रुपमा कृषि र पशुपालमा निर्भर रहेको बसेरी लगायतको गाउँमा स्वास्थ्यको अर्को चरम संकट छ। उक्त गाउँमा एउटा पनि स्वास्थ्य संस्था छैन। जसले गर्दा कुनै खोप कार्यक्रम लग्नु परे पनि समस्या रहेको छ। कोही बिरामी परेमा निकै समस्या हुने गरेको अर्का स्थानीय महेन्द्र कुमार घर्तीले बताउनुभयो।

उहाँले कोही बिरामी भएमा एम्बुलेन्स बोलाउँदा बोलाउँदै ज्यान जाने अवस्था रहेको बताउनुभयो। कृषिमा निर्भर रहेको गाउँ भए पनि सिंचाइँको व्यवस्था छैन। गाउँको छेउमा खोला त छ तर, सिंचाइँको कुनै व्यवस्था छैन। गाउँभन्दा तलको खालाबाट सानो लगानीमा सिंचाइँ सम्भव नभएपछि आकाशे पानीको भरमा खेती हुने गरेको घर्तीले बताउनुभयो।

बन्यजन्तुको डर

बसेरी लगायतको यस गाउँमा बन्यजन्तुको अर्को ठूलो डर रहेको छ। अहिले पनि बेलाबेलामा बाघले गाई, बाख्रा खाइदिने गरेको छ। दुई वर्ष अगाडि मात्रै टोल अध्यक्ष पुनलाई वनमा बाघले आक्रमण गरेर गम्भीर घाइते बनाएको थियो।

उहाँ बाघसँग लडेर बाँच्नुभएको थियो। बाघले आक्रमण गरेपछि भाग्यले आफू बाँचेको उहाँ बताउनुहुन्छ। जसबेला पुनलाई वन कार्यालय लगायतले औषधि उपचार स्वरुपम आर्थिक सहयोग पनि गरेको थियो।

बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको बसेरी गाउँको जंगल भएकाले पनि यहाँ बन्यजन्तु र मावनबीचको द्वन्द्व भोलिको दिनमा बढ्ने देखिन्छ। बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या प्रत्येक वर्ष बढ्दै गइरहेको छ। बाँकेको कुसुम क्षेत्रमा जस्तै यस बसेरी क्षेत्रमा बाघको त्रास आजभोलि पनि रहेको छ।

तर, बाघको त्रास रहेपनि बाहिर आउने गरेको छैन। घोराहीकै नागरिकलाई सायद बबई खोलाको दक्षिणमा धर्ना गाउँ छ र त्यसभन्दा दक्षिणतर्फ ठूलो पहाडसँग जंगल छ भन्ने मात्र आभास हुन्छ होला।

तर, त्यही पहाडको कुनै कुनामा बस्ती बस्दा नागरिकले थुप्रै समस्या झेल्नु परेको छ। रोजगारको अवस्था छैन। बाहिर ६ महिना कमाउने र बाँकी ६ महिना खाने गर्दैमा यहाँका नागरिकको दैनिकी वितिरहेको छ।

कोही भने विदेशमा कमाइ गर्दै गाउँ छाड्ने गरेको पनि स्थानीयहरु बताउँछन्।

लगाएको अन्नवाली जोगाउन कठीन

बन्यजन्तु बधेंल, डुम्सी, भास्रे लगायतको जनावरले वर्षेखेती जोगाउनै कठिन हुने जरसिंह खड्काले बताउनुभयो। उहाँले बारीमै टहरा बनाएर बसेको भएपनि अन्यबाली जोगाउन कठिन हुने जानकारी दिनुभयो। विशेष गरेर मकैवाली जोगाउन कठिन हुने गरेको छ।

बस्ती सार्ने योजना बनाए पनि विफल

जंगलको बीचमा रहेको यस बसेरी, सिदुरे लगायतको गाउँलाई अन्य स्थानान्तरण गर्ने योजना बनाएको भएपनि सफल हुन नसकेको वडा नं. ५ का वडाध्यक्ष विष्णुमणी दाहालले बताउनुभयो।

‘०७४ मा वडाध्यक्षमा निर्वाचित भएर आएपछि यो गाउँलाई करोडौँ रुपैयाँ लगानी गरेर विकास गर्नुभन्दा अन्यत्र कतै सार्ने योजना पनि बनाइयो। तर, सम्भव हुन सकेन,’ वडाध्यक्ष दाहालले भन्नुभयो,‘यहाँका नागरिकले अन्य ठाउँमा नजाने भनेर भन्नुभयो।’

उहाँले अगाडि भने,‘त्यसपछि यही ठाउँलाई विकास गर्नुपर्ने भयो। अनि पहिलो विकासका रुपमा सडक ल्याइयो। अहिले पानी घरघरमा आएको छ। नेटवर्कका लागि पनि टावर बनाउने योजना भइरहेको छ।’

वडाध्यक्ष दाहालले बसेरी लगायतका नागरिकले मानिदिएको भए अन्य ठाउँमा स्थानान्तर गरिने उल्लेख गर्नुभयो। उहाँले यस गाउँका लागि ५० लाख बढीमा खाने पानीको दुई वटा ट्यांकी बनाएको बताउनुभयो। ०७४ को निर्वाचनमा प्रचारप्रसार गर्न हिँडेर बसेरी गाउँमा पुगेको भन्दै उहाँले स्थानीय तहपछि सडक विस्तारै विकास हुँदै गएको बताउनुभयो।

दाहालले नेपाल सरकारको सिमित स्रोत साधानमा नागरिकको आवश्यक्ता ईच्छाअनुसार एकै पटक पूरा गर्न नसकेपछि विस्तारै बसेरी लगायतका गाउँमा पनि उपमहानगरको सेवा सुविधा पुग्दै जाने विश्वास व्यक्त गर्नुभयो।

Ad Area