शिवु खनाल
कोइलाबास नाका, ७ माघ । पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि दाङका सिमावर्ती क्षेत्रमा कडाइ गरिएको छ । भारतसंग जोडिएका दाङका सिमावर्ती क्षेत्रमा कडाइ गरिएको हो ।
भारतसंग जोडिएको दाङको कोइलाबास नाका हुदैँ नेपाल प्रवेशका लागि खोप कार्ड अनिवार्य गरिएको छ । (कोभिड १९) को संक्रमित दिनप्रतिदिन बढेकाले कोइलाबास नाका हुदैँ नेपाल प्रवेशका लागि शुक्रवारदेखि उक्त नियम लागू गरिएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो ।

अव छिमेकी राष्ट्र भारतबाट कोइलाबास नाका हुदैँ, नेपाल प्रवेश गर्ने जो कोहीले पनि अनिवार्यरूपमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्नुका साथै कोरोना भाइरसविरुद्धको खोप कार्ड पनि साथमा लानु पर्नेछ, प्रमुख जिल्ला अधिकारी रेग्मीले भन्नुभयो । बिहिवार दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको नेतृत्वमा कोइलाबास नाका पुगेको दाङको सुरक्षा समितिले गढवा गाउँपालिकाले कोइलाबास नाकामा स्थापना गरेको हेल्थ डेस्कको स्थलगत निरिक्षण एवम् अनुगमन गरेको हो ।

खोप नलगाएकालाई नेपाल प्रवेशमा रोक
भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखा परेपछि नेपाल प्रवेश गर्ने नाकामा कडाइ गर्न सुरुआत गरिएको छ । भारतसँग सीमा जोडिएको कोइलाबास नाकामा पनि भारतले खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य गरेको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो ।
भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखा परेपछि र कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि बिहिवार दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मील कोइलाबास नाका पुगेर खोप लगाएका नेपाली नागरिकलाई मात्रै आफ्नो देश नेपाल प्रवेश गर्न दिन सुरक्षा प्रमुखलाई निर्देशन दिनुभएको छ ।

नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारतसंग जोडिएको दाङको ३४ वटै सिमावर्ती क्षेत्रमा कडाइ गरेको बताइएको छ । कोरोनाको दुवै मात्रा खोप लगाएको पन्ध्र दिनपछि मात्रै खोप कार्ड देखाएर नेपाल प्रवेश गर्न दिने जनाएको छ । भारतबाट नेपाल आउने नेपाली नागरिकले अनिवार्यरूपमा पन्ध्र दिन अगाडि खोपको दुवै मात्रा लगाएको प्रमाण बोकेर जान जिल्ला प्रशासन कार्यालय दाङले अनुरोध गरेको छ ।

खोप कार्ड नभएका नेपाली नागरिक भारतबाट नेपाल पस्न रोक लगाइएको छ ।
कोइलाबास नाकाबाट स्वदेश फर्किने नागरिकले अनिवार्यरूपमा सात दिन क्वारेन्टिन बस्नुपर्ने बताइएको छ । कोइलाबास नाकामा संकास्पद व्यक्तीको एन्टिजेन परीक्षण जारी रहेको भए पनि सात दिनसम्म यसको लक्षण देखा पर्नसक्ने भएकाले स्वदेश फर्किने नागरिकलाई अनिवार्यरूपमा क्वारेन्टिनमा बस्न आग्रह गरिएको हो । सीमानाकामा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न पनि भनिएको छ ।
नेपाल—भारत सिमा नाकामा कडाइ
दोस्रो चरणको (कोभिड–१९) संक्रमण बढ्दै गएपछि नेपाल भारत सीमा क्षेत्रमा कडाइ गरी उच्च सतर्कता अपनाएको छ । नेपाली र भारतीयलाई सीमा क्षेत्रबाट खोप कार्ड विना नेपाल भित्रिन नदिन कोइलाबास नाकामा उच्च सतर्कता अपनाई आवतजावतमा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले बताउनुभयो । भारतबाट आउने र नेपालबाट भारततर्फ जानेलाई कडाइका साथ कोरोना भाइरसविरुद्धको खोप कार्ड पनि साथमा लानु पर्नेछ, प्रहरी प्रमुख काफ्लेले भन्नुभयो ।
यसका साथै यस विषयमा सहयोग गर्न भारतीय समकक्षीसँंग नियमित समन्वय गर्ने गरिएको, जथाभावी नेपाल प्रवेश गर्नेलाई फिर्ता पठाउन लगाइएको जनाइएको छ । त्यस्तै जबरजस्ती प्रवेश गर्नेलाई कारवाही गरिने, सीमा क्षेत्रको आफै स्वयं नियमित निरीक्षण गर्ने, आपराधिक गतिविधि नियन्त्रण गर्ने, भारतबाट कुनै सामान आउन नदिने जस्ता कार्यगरी सीमा क्षेत्रमा कडाइ गरिएको बताइएको छ । कोरोना संक्रमणको जोखिम बढेसँगै नेपाल प्रवेश गर्ने सवारीसाधनमा कडाइ गरिएको छ । नेपाल छिर्ने दाङको कोइलाबास नाका सहित विभिन्न नाकामा कडाइ गरिएको सशस्त्र प्रहरी बल २९ नं. हेक्वा ज्वालामाई गण भालुवाङका प्रमुख बिनोद केसीले बताउनुभयो ।
हेल्थ डेस्क अनुगमन गर्न निर्देशन
दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गढवा गाउँपालिकाले कोइलाबास नाकामा स्थापना गरेको हेल्थ डेस्को पटकपटक स्थलगत निरिक्षण तथा अनुगमन गर्न गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीलाई निर्देशन दिनुभएको छ ।
बिहिवार प्रमुख जिल्ला अधिकारी रेग्मीले स्वास्थ्य शाखा प्रमुख चौधरीलाई कोइलाबास नाकामै पुगेर हेल्थ डेस्को दैनिकी अपडेट गर्न निर्देशन दिनुभएको हो ।
दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको नेतृत्वमा कोइलाबास नाकामा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रसाद काफ्ले, राष्ट्रिय अनुसन्धान दाङका प्रमुख अर्जुन भण्डारी, रङसिंह गणका प्रमुख सेनानी रविन्द्र महर्जन, सशस्त्र प्रहरी बल २९ नं. हेक्वा ज्वालामाई गण भालुवाङका प्रमुख बिनोद केसी, ४१ नं. गण अर्जुखोलाका प्रमुख अविन्द्र श्रेष्ठ, सशस्त्र प्रहरी बल कोइलाबास नाकाका प्रमुख माधबप्रसाद ढुङ्गेल पत्रकार लगायतको उपस्थिती रहेको थियो ।