Ad Area Ad Area
Ad Area
Ad Area

घोराही–तुलसीपुर सडकखण्ड..मुत्युमार्ग !

दाङ, ३० पौष । कुइरेपानी–घोराही–तुलसीपुर फोरलेन सडक निर्माणको कार्य गत साउन १३ गते (२१ जुलाई २०२१) मा सम्पन्न भइसक्नुपर्ने थियो । तर तीन वर्षवित्दा पनि यसको निर्माण कार्यले पूर्णता पाउन सकेको छैन ।

Blog Post Ad

बरु अहिले सडकको अवस्था हेर्दा सडक निर्माण होइन विग्रिएर धरासाय बनेझै देखिन्छन् । त्यसमाथि सडकमा ठूला–ठूला खाल्डा परेका छन् । जस कारण घोराही–तुलसीपुरको सडक ज्यानमारा सडक र मुत्युमार्गमा परिणत भएको छ । जो अनाहक यी सडकमा ज्यान गुमाइरहेका छन् ।

Blog Post Ad

गत साउन १२ गते मंगलवार तुलसीपुर–७ पर्सेनीस्थित फोरलेन सडक निर्माणका क्रममा ह्युमपाइप राख्नका लागि बिच सडकमा खनेको खाल्डोमा परेर तुलसीपुर–१० राइखलियानका ३५ वर्षीय चुडामणि भण्डारीको ज्यान गयो । ६ महिनाभन्दा बढी सोही अवस्थामा रहेको उक्त खाल्डो भण्डारीको मृत्युपश्चात अर्काे दिन पुरिएको थियो । अहिले पनि उत्त डखापडका कारण त्यो स्थानमा जोखिम उत्तिकै छ ।

Blog Post Ad

केही समययता घोराही–१० सौडिकुलाचोक आसपासको सडकमा थुप्रै ठूल्ठूला खाल्डा थिए । तर त्यहाँ त्यही खाल्डामा परेर एउटा मोटरसाइकल दुर्घटनामा मानवीय क्षती भएपछि उक्त खाल्डा पुरियो । यस्तै गत कार्तिक १३ गते बिहान पौने सात बजेतिर पनि सौडिकुलाचोकनजिकै मोटरसाइकल दुर्घटना भएको थियो । उक्त दुर्घटनामा घोराही–३ का ४३ वर्षीय खुशीराम चौधरीले ज्यान गुमाए । उक्त दुर्घटना सडकमा भएका खाल्डाखुल्डीका कारण भएको स्थानीय तथा प्रत्यक्षदर्शीहरु बताउँछन् ।

यस क्षेत्रमा दिनहुँजसो साना ठूला दुर्घटनाहरु हुने गरेको स्थानीय राजन न्यौपानेले बताए । हरेक दिन दुर्घटना हुन्छ । कैयौंले ज्यान गुमाइसके । घोराही उपमहानगरपालिकामा खाल्डाखुल्डी पुर्न पहल गर्दिनुप¥यो भनेर पटकपटक जानकारी गराउँदा पनि कुनै वास्ता भएन । उनी भन्छन्, ‘स्थानीय सरकारले पिच त गर्न नसक्ने भयो । कमसेकम आफ्नो क्षेत्रभित्रका सडकमा भएका खाल्डाखल्डी पुर्न त सक्छ होला नि ? स्थानीय सरकारको काम रमिता हेरेर बस्ने मात्रै त होइन होला ?’

Blog Post Ad

यतिबेला स्थानीयहरु मिलेर सौडिकुलाचोक वरपरका खाल्डा पुरेका छन् । अन्य वरपरका खाल्डा भने उस्तै छन् । जसमा दुर्घटनाको जोखिम उत्तिकै छ । स्थानीयहरु भन्छन्, ‘सडकैभरि खाल्डैखल्डा छन् । हामीले कहाँ–कहाँ पुर्ने ? सडकमा भएका खाल्डा पुर्ने कुनै निकाय होला नि ? त्यसको पनि त केही भूमिका होला नी ?’

दूई सय खाल्डा !

घोराही–तुलसीपुर सडकखण्डमा साना ठूला गरेर दुई सयको हाराहारीमा खाल्डाहरु छन् । फोरलेन निर्माण कार्य थालेयता यता घोराही–तुलसीपुर सडकखण्डमा यात्रा गर्नेहरुले सास्ती खेप्नुपर्ने बाध्यता त छँदैछ, थुप्रै दुर्घटनाहरु पनि भएका छन् । जो दिनप्रतिदिन दुर्घटनाका कारक र ज्यानमारा खाल्डाका रुपमा परिणत भइरहेका छन् । जसमा केहीले ज्यान समेत गुमाइसकेका छन् ।

दुर्घटना भएपश्चत ती स्थानमा आलटाल गरेर काम देखाए झैं गरे पनि सरोकारवाल र स्थानीय तहहरुले यो विषयलाई गम्भीरताका साथ नलिएको घोराही–१७ गुलरियाका राजकुमार चौधरी बताउछन् । ‘यी सबै खाल्डा पुर्नलाई प्रत्येक खाल्डामा दुर्घटनै हुनुपर्ने हो ? कोही न कोहीले ज्यान दिनुपर्ने हो ?’ उनले आक्रोश पोखे, ‘हामीले जिताएर पठाएका प्रतिनिधिहरु छन् । हामीले दुःख पाइरहेका छौं । जताका दुःख, सुखमा साथ दिने भनेर जनप्रतिनिधि बनाएको होइन र ?’ यी खाल्डाहरु त स्थानीय सरकारले पुर्दा पनि त हुन्छ होला ?’

कुनै ठाउँमा वरपरको भाग खनेर सडक साँघुरो बनाएर छोडिएको छ भने कतै निर्माणका क्रममा बनाइएका डाइभर्सनहरु निकै उपडखापड भएका छन् । कतै भने आधा बाटो ढाक्ने गरी निर्माण सामग्रीहरु थुपारिएको छ ।

घोराहीका सागर चन्द एम्बुलेन्स चालक हुन् । उनी बिरामी लिएर विभिन्न ठाउँमा पुग्छन् । उनलाई सबैभन्दा अप्ठ्यारो बाटो घोराही–तुलसीपुरको लाग्छ । अन्य ठाउँका बाटाहरु देख्दा घोराही–तुलसीपुरको सडक कहिले यस्तै होला भन्ने लाग्ने चन्द बताउनुहुन्छ । सर्रा एरिया, गुर्जेखोला आसपास, सौडिकुला वरपर, पत्रेखोला, संक्राम खोला, ग्वारखोला, कालाखोला उकालो, मोतिपुर र हात्तिखौवा आसपासाको क्षेत्रमा सवारी चलाउँदा निकै अप्ठ्यारो महसुस हुन्छ । उनी भन्छन् – कहिलेकांही सिरियस खालका बिरामी हुन्छन् । छिटो अस्पताल पु¥याउनुपर्ने हुन्छ तर बाटोको अवस्था यस्तो छ । २४ किलोमिटरको बाटो पार गर्न झण्डै एक घण्टा लाग्छ ।

निवर्तमान प्रजिअ रामबहादुर कुरुम्बाङले तिहार लगत्तै दुत्रगतिमा काम शुरु हुने बताएका थिए । यद्यपि हालका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सो विषयमा आफूलाई जानकारी नभएको तर छिटो काम सञ्चालन गर्ने सवालमा छलफल अगाडि बढेको बताए । उनले भने – निर्माण व्यवसायी, स्थानीय सरोकारवाल तथा सम्बन्धित सबैसँग छलफलको प्रक्रिया अगाडी बढाएका छौं । १÷२ दिनभित्रमा परिणाम देखिने खालको निर्णय गरेर अगाडि बढछौं ।

तुलसीपुर बजारदेखि हात्तिखोवाचोक र घोराहीको कटुवाखोलादेखि डिके पेट्रोल पम्पसम्मको एरियामा भएका खाल्डा पुर्ने काम डिभिजन सडकको र अन्य स्थानका सडकमा देखिएका यी खाल्डाहरु पुर्ने जिम्मा परियोजनाकै भएको फोरलेन परियोजनाले बताएको छ । हाल फोरलेनको काम अघि बढ्न सकेको छैन ।

घोराही–तुलसीपुर सडकखण्ड फोरलेन निर्माणको प्रक्रियामा गइसकेको हुँदा स्थानीय सरकाले बजेट खर्च गर्ने अधिकार हुँदैन तर व्यवहारिकताका आधारमा हामीले पटक पटक मर्मत सम्भार गरेको घोराही उपमहानगरपालिकका प्रमुख नरुलाल चौधरीले बताए । उनले भने – हामीले देखेका र जानकारी पाएका जोखिमयुक्त स्थानमा काम गरिरहेका छौं ।

अधिकार छैन भन्दैमा जनताले दुःख पाएको हेरेर बस्नु पनि त भएन । अहिले पनि कुनै स्थानमा त्यस्तो जोखिम छ, जनताले दुःख पाएको छन् भन्ने जानकारी भयो भने हामी त्यसको मर्मत सम्भार गर्छौं ।

Ad Area