Ad Area Ad Area
Ad Area
Ad Area

जब दाजुबहिनी बीचमै सेक्स हुन्छ…

नवीन अभिलाषी

Blog Post Ad

‘हिजो म बाठो थिए, र संसार बदल्न चाहन्थेँ, तर आज म बुद्धिमान भएको छु त्यसैले आफैलाई बदल्न चाहन्छु ।’

Blog Post Ad
  तेह्रौ शताब्दीका महान प्रख्यात कवि मौलाना जलालुद्दिन रुमीको कविताले आत्मकेन्द्रित परिवर्तनको विराट र विस्तृत रुप नै संसार परिवर्तनको प्रमुख आधारको रुपमा स्वीकार गर्दछ । हरेक मानिस उमेरको एक मोडमा संसार, देश, समाज, परिवार परिवर्तनको सपना बाँच्दछ । उमेरको उकालो र सांसारिका नियम भित्रको चंगुलमा फस्दै गएपछि संसार हुँदै देश, देश हुँदै, आफ्नो समाज, त्यो समाज हुँदै परिवार र परिवारबाट पनि खुम्चिएर आफूलाई परिवर्तन गर्ने साँघुरो घेरामा आइपुग्छ । त्यहाँ आइपुग्दा समयले नेटो काटिसक्छ, र अन्त्यमा आफूलाई परिवर्तन गर्ने जिम्मा कुनै इश्वरीय शक्तिमा छोडेर भक्तभजनमा हाम फाल्दछ । 

म एक जना नेपाली कम्युनिष्ट आन्दोलनका प्रखर नेतालाई चिन्दछु । राणा, पञ्चायत, प्रजातान्त्रिक समयमा कम्यूनिष्ट आन्दोलनमा रगत कुरा गर्ने, कविता लेख्ने, भौतिक क्रान्ति र आन्दोलनबाट मात्रै राज्यसत्ता प्राप्त गर्न सकिन्छ, समाजवाद ल्याउन सकिन्छ भनेर सिंगो जीवन सिध्याएका उनले अहिले ध्यान, योग, साधना, तन्त्रमन्त्र, ग्रन्थ मार्फत आफुलाई परिवर्तन गर्न तर्फ उद्यत छन् । 

सिंगो जीवनभर अंगालेको विचार, सिद्धान्त र दृष्टिकोणबाट मानिस उमेरको बुढौली मोडमा आईपुगेर किन स्खलित हुन्छ ? समाजशास्त्रको विज्ञानका लागि यो एक महत्वपूर्ण विषय बन्न जान्छ । 

त्यहि आदर्श, नैतिकता, सम्भावना, भौतिकवादी दृष्टिकोण सहित सुरु हुन्छ यो उपन्यास लुकेको वासना । संसार फगत एक टुक्रा हो, यो हुनु र नहुनुसंग सजनीको जीवनले कुनै अर्थ राख्दैन । देश छोडेर सुखी देशमा पुगेकी २३ वर्षिया युवती सजनीले सोँच्ने संसार हो यो उपन्यासको कथा । ऊ आफैमा यो संसार केन्द्रित छ भन्ने भ्रममा छे । मानौ कि यहाँको समाज, समय, सिद्धान्त, सपना र सम्भावनाहरु प्रति उस्को कुनै लगाव छैन, चासो छैन । उस्को आफ्नै दुनिया छ, जीवन छ, जीजीविषा छ, उस्ले देखेको सपना बाँच्न चाहन्छे, आफैले खनेको बाटो हिँड्न चाहन्छे । किनकी अष्ट्रेलियाको एक शहरको कुनै कुनामा छ एउटा कोठा, रत्यो कोठामा उस्को चौथो प्रेमी सरोज उस्को नांगो वक्षस्थलमा मस्त निदाइरहेको छ ।  

समाज देखिने आँखीझ्याल
नेपाली समाजको नियतीहरु यी यस्ता उपन्यासमा पोखिन र हामी पढ्न अभिसप्त छौँ । मानौ कि एक पछि अर्को त्यो नियती भोग्न हामी बाध्य छौँ । आज सजनीले पालेको दृष्टिकोण (भ्रम) निकट भविष्यको मेरो वा तपाईको छोरीको नियती हो, भ्रम हो । यथार्थबाट निक्कै दुर दुर…. ।

Blog Post Ad

उपन्यासको म पात्र सजनी, वर्तमान नेपाली समाजको प्रतिनिधि पात्र मात्र हैन । केहि हदसम्म असत र आवेगमा बाँच्ने पात्र पनि हो ।युवा उमेरले देखेको नेपाली समाजको चित्र बोकेको उपन्यासले होस्टेलको रंगरमाइलोदेखि आर्थिक, भौतिक सुख बाँच्ने अभिलाषाका साथ पुगेको दुरदेशसंग नेपाली समाजलाई तौलिन्छ ।अर्थराजनीति, समाज विज्ञान, संस्कार सभ्यतालाई अष्ट्रेलियाको हावापानी र दैहिक सुखसंग तौलिएर नेपालमा बसेकी आमाले गरेको विवाहको प्रस्तावमा वैवाहिक बेफाइदाका तर्क प्रस्तुत गर्दछ । शिक्षित युवतीले सोँच्ने दृष्टिकोणको जीवन्त चित्र हो यो ।

पितृसत्तात्मक समाजले महिलामाथी गरेको दमनका अनेक कथाहरु उपन्यासले भन्छ । आमाले बाँचेको जीवन नै प्रमुख पात्रलाई दयनीय लाग्छ । यौन उत्पीडनबाट बाहिर निस्किन नसकेका नेपाली महिलाहरुको प्रतिनिधि कथाहरु समावेश यो उपन्यासमा नारी स्वतन्त्रता, महिला मुक्तिको आवाज कसरी र किन यति खरो रुपमा उठिरहेको छ त्यसको तर्क र प्रमाण पेस गर्दछ । र त्यो मानेर नमानेर पाठकले स्वीकार गर्न बाध्य हुन्छ ।

Blog Post Ad

पुरुष सत्तामाथिको आक्रोश, आन्दोलन र अभियान हो यो ।
उपन्यासले त्यस्ता थुप्रै प्रश्नहरु गर्दछ, जस्तो कि पुरुषका लागि वेश्यालय छन्, महिलाका लागि खोई ?पुरुषले यौन उत्तेजना शान्त बनाउन महिला खोज्दै हिँडन पाउने, महिलाले किन नपाउने ? आफ्नै बाउले आमा माथि गरेको अन्यायका कारण आमाको जीवन नै किन दयनीय लाग्छ ? प्रेमी प्लेवोय हुन पाउने युवतीले दुई चार वटा प्रेमी बनाउन किन नहुने ?सन्तान उत्पादनका लागि विवाह किन अपरिहार्य ? विवाह विना नै सन्तान उत्पादन गर्ने अधिकार नेपाली महिलाले किन नपाउने ?

युरोपेली तथा अमेरिकन भूगोलमा वैदेशिक रोजगारका लागि जाँदा अपनाउनु पर्ने प्रक्रिया प्रणालीहरु कुन हदसम्म हुन्छन् ? यो अहिलेको नेपाली कथा हो, त्यसले नेपाली समाजका पारेको असर कस्तो छ ? त्यो देख्न पाईन्छ । नेपालको शिक्षा प्रणालीदेखी यहाँको राजनीति प्रति युवाहरुको धारणा कतिसम्म निरासाजनक छ भन्ने कुरा उपन्यासले इमान्दार भएर भन्छ ।

यौन उदारताको पक्षमा
नेपाली समाजले सधै बर्जित बनाएको यौन धारणाका विकृत रुप (?) हरु भित्रभित्रै कसरी फैलिन थालेका छन ? यौनकै आसपासमा सुरुदेखी अन्त्यसम्म घुमेको उपन्यास यसको उदार संस्कारलाई विना संकोच स्वीकार गर्दछ । कुनै कुनै अध्यायका कथाहरु यौन कथा जस्तो मात्र छैनन्, यौन जीवनका नयाँ आयामहरु बारे पनि उपन्यासले खुलस्त भन्छ ।

हाम्रो समाजमा रहेको लेस्वियनको पाटो, पोर्नोग्राफी प्रतिको युवाहरुको लगाव र त्यसको प्रयोग सामान्य छ । समलिङ्गी व्यक्तिहरु बीचको विवाहलाई सरकारले मान्यता नदिए पनि उनीहरुको पहिचानलाई राज्यले स्वीकार गरीसकेको छ । समलिङ्गी विवाहलाई सरकारले मान्यता नदिए पनि हाम्रो समाजमा भैरहेका छन्, भलै त्यस्ता विवाहको सामाजिक वा सरकारी मान्यताको विषय बहसमै होस्, तर प्राकृतिक रुपलाई मानव निर्मित संरचनाहरुले ढिलोचाँडोस्वीकार गर्नुपर्छ ।

एउटा मानिसको मस्तिष्कमा दैनिक ६० लाख विचारहरु खेल्छन् । त्यसमध्य कम्तीमा १० प्रतिशत विचार यौन धारणा हुन् । यौन विचार, धारणा र क्रियाकलाप विना मानव जीवन बाहिर आउन सक्दैन । उपन्यासले हाम्रा युवाहरुले शिक्षा आर्जन गर्ने शैक्षिक संस्थादेखि होस्टेलमा हुने यौन गतिविधिहरु बारे बताउछ । अहिलेको खुला समाजमा मातमदिरा र यौन विषयले पाएको प्राथमिकता बारे भन्छ । त्यो पनि कुनै पनि प्रकारका सीमा र परिधी भन्दा बाहिर गएर ।

यौन आनन्दको उत्कर्षको सीमा यहाँसम्मको देखाइएको छ कि दाजु र बहिनी बीचकै मात मदिरा सहितको यौन सम्बन्धलाई विभिन्न तर्कले ठिक छ भन्छ ।युवती नै किन नहोस्, उ यसरी उदार हुन्छे कि देश छोडेर परको भूगोलमा पुग्दा दाजुबहिनीकै सम्बन्ध पनि यौन सम्बन्धमा परिणत होस् । प्रेम मात्र प्राविधिक कुरा हो, संयोग हो भन्ने सिकाउने उपन्यासले सम्बन्धलाई सहज रुपमा स्वीकार गर्ने र परित्याग गर्ने अवधारणाको विकास गर्न खोजेको देखिन्छ ।

कथा–कथ्य
उपन्यासको प्रमुख विषय यौन हो, त्यसबाट उत्पन्न र त्यसले पारेका असर कथालाई सहायक कथाको रुपमा उल्लेख गरिएको छ । तर उपन्यासको मुख मुल कथा नै छैन । कथाको एउटा बाटो छैन । आरोह अवरोह, उत्सुकता, सुरुवात अन्त्य बारे घोत्लिनुपर्छ । तर यति भन्दा उपन्यासमा कथा नै छैन त ? त्यो होइन यो उपन्यासलाई कथाहरुको योग भन्न सकिन्छ ।

सुरुमा कथा निक्कै ढिलो बग्छ । आदर्श र दर्शनका वाक्यहरु एकपछि अर्को गर्दै आउछन् । धर्म, संस्कृति, दर्शन, परम्पराका विषयमा उल्लेख विचार र अवधारणाहरु हरकोहीका लागि उत्पे्ररित लाग्छन् । एक एक वाक्यमा जीवन दर्शनबारे गहिरो भाव भन्छन् । त्यो शैलीले पाठकलाई मज्जाले तान्छ मात्रै हैन धेरै थोक सिक्ने वातावरण पनि दिन्छ । एक एक वाक्यले जीवनमा हारबाट बाहिर तान्छ र जीवनको फरक पाटो बाटोमा डोहोर्याउछ ।

तर म पात्र सजनीको सुरुवाती आदर्श चेतना र अन्त्यको निरिहताले उपन्यासलाई कमजोर महसुस बनाउछ । प्रमुख पात्रको कथा भन्दा उपन्यासका सहायक पात्रहरुको कथाहरु रुवाउने खालका छन् । माया, अम्बिका, रम्बिका, अञ्जलीले बाँचेको जीवन बर्तमान नेपाली महिलाहरुको कथाहरु हुन् । लेखकले मूल पात्रलाई कुनै कथा नै नदिएको भएपनि सहायक कथाहरुले उपन्यास पूर्ण छ । उपन्यास पढ्दा प्रमुख पात्र सुत्रधार जस्तो लाग्छ भने सुत्रधारसंग जोडिन आईपुग्ने पात्रहरु सशक्त पात्रहरु जस्तो ।

उपन्यास नयाँ शैलीमा व्यक्त गर्न खोजीएको छ । उपन्यासका कथाहरु तलमाथी अगाडी पछाडी छन् । बुझ्न त सकिन्छ तर त्यसमा लेखकले अझै काम गरेको भए हुन्थ्यो भन्ने महसुस हुनु स्वभाविकै लाग्छ । पटकथाहरु निक्कै कम छन् जति छन त्यसले सन्तुष्ट बनाउछ । पटकथाका प्रसंगहरु दोहोरिए जस्तो पनि लाग्छ । पात्रहरु अचानक आउछन् र अचानक हराउछन् विना प्रसंग । त्यो शैली नयाँ लाग्छ । उपन्यास कथा र त्यसको प्लटको प्राविधिक पक्षमा अझै धेरै काम गर्न जरुरी थियो ।

पुछारमा,
लुकेको वासना उपन्यास वर्तमान चेतनाको झिल्को हो, एउटा रुप हो, यो एउटा अवधारणा हो । यो एउटा कामवासनाको कथा मात्र हैन, नेपाली समाजको बर्तमान चित्रलाई इमान्दार भएर लेखिएको पूर्ण तस्वीर हो । विश्वले स्वीकार गरेको विषय तर नेपाली समाजले अझै खुल्ला रुपमा अंगाल्न नसकेको मानिसको कथा हो । यौन जस्तो प्राकृतिक सौन्दर्यलाई धर्म, संस्कार, परम्पराको पगरीले छोपेर राखेको नियती अहिले कसरी खुल्ला रुपमा फैलिदै छ र फैलिनुपर्छ भन्ने न्यायीक दृष्टिकोणहरु उपन्यासले भन्छ ।

नारी हस्ताक्षरबाट यो विषयमा, यति गहिराईमा पुगेर उपन्यास कमै लेखिन्छन्, भलै यो उपन्यास अध्ययनपछि लेखकलाई कयौँ प्रश्नको सामना गर्नुपर्ला, तर यो शसक्त उपन्यासको रुपमा पाठकले स्वीकार गर्ने नै छन् ।

किताब : लुकेको वासना
विधा : उपन्यास
लेखक : अन्जु न्यौपाने

Ad Area