Ad Area Ad Area
Ad Area
Ad Area

आँटिली मंगला : जो काममा रमाउँछिन्

दाङ, १९ पौष । ‘जीवन के हो ? मैले भनेको परिभाषाले पुग्दैन होला । तर सामान्यतः म जीवन एउटा सिकाइ हो भन्छु । समय, परिस्थितिले जेजे सिकाउँदै जान्छ त्यहि सिक्दै, भोग्दै जानु पर्ने रहेछ ।’ मंगला राणा भन्नुहुन्छ ।

Blog Post Ad

मंगलाले भने जस्तै उहाँले जीवनलाई समय, परिस्थिति अनुसार नै चलाउदै जानुभएको छ । दाङ घोराही १५ मा बस्ने मंगलाको घर देउखुरी स्थित गढवा गाउँपालिकामा पर्छ । उहाँ कामको सिलसिलामा घोराहीमा बस्न थालेका एक दशक बढी भईसक्यो ।

Blog Post Ad

मंगलाको घोराहीमा एक छोरा र श्रीमानसहित३ जनाको परिवार छ । सामान्यतः बजारमा बस्ने भनेपछि श्रीमान कमाउने श्रीमति छोराछोरीको स्याहारसुसार गर्ने भन्ने बुझिन्छ । तर मंगलाको त्यस्तो छैन ।

Blog Post Ad

उहाँको श्रीमान मानबहादुर सिंह शिक्षण पेशामा हुनुहुन्छ । विहानदेखि साँझसम्म श्रीमानको फुर्सद छैन । श्रीमानलाई जस्तै मंगलालाई पनि फुर्सदमा बस्ने समय छैन । मार्गदर्शन गर्ल्स होस्टेल सञ्चालन गर्नुभएकी मंगलाले सम्पूर्ण जिम्मेवारी सम्हाल्नु भएको छ ।

होस्टेलमा साँझ विहान आवश्यक दैनिक सामाग्रीदेखि आयब्ययको जिम्मेवारी सबै उहाँले नै व्यवसस्थापन गर्नुहुन्छ । एक जनालाई रोजगारी समेत दिनु भएकी मंगलाले कामलाई सानो ठूलो भन्न नहुने तर्क राख्नुहुन्छ ।

Blog Post Ad

‘काम सानो ठूलो हुँदैन, जे पनि गर्नु नै हो काम गर्नुपर्छ,’ उहाँले भन्नुभयो । कामविना आफू बस्न नसक्ने उहाँको भनाई छ । आफू कुनै रोजगारमा नजोडिए पनि घरमा आर्थिक समस्या नहुने बताउँदै उहाँले कामविना आफू बस्न नसक्ने कुरा सुनाउनुभयो ।

जीवनमा त्यसै बस्नु हुँदैन भन्ने सोच पहिलेदेखिनै आफूमा रहेको मंगलाको भनाई छ । त्यसैको स्वरुप अहिले गर्ल्स होस्टेल सञ्चालन गरेर सेवासहित आर्थिकपार्जनको काम गरिरहेको उहाँले बताउनुभयो । घोराही १५ मा उहाँले मार्गदर्शन गर्ल्स होस्टेल सञ्चालन गरेको ७ वर्ष भइसकेको छ ।

मंगलाको मेडिकलमा हात तर मिलेन साथ

मंगला एउटा कुशल होस्टेल सञ्चालक त हुनुहुन्छ नै तर पढेको, सिकेको डाक्टरी पेशा पनि हो उहाँको । सि.एम.ए र ल्याब टेक्निसियन पढ्नु भएकी मंगलाले होस्टेल सञ्चाल गर्दै गर्दा मेडिकल सञ्चालन गर्ने आँट गर्नुभयो ।

घोराहीमै मेडिकल सञ्चालन गर्नुभएकी उहाँले त्यसमा भने सफलता हात पार्न सक्नुभएन ।श्रीमान शिक्षण पेशामा, आफू होस्टेल सञ्चालनदेखि मेडिकल सञ्चालन गर्दा समयको अभावमा मेडिकलमा सफलता मिल्न नसकेको उहाँको भनाई छ ।

मेडिकल सञ्चालन गर्दा लगानी राम्रै गरेको बताउँदै उहाँले भन्नुभयो, ‘लगानी राम्रै थियो मेडिकल खोल्दा तर न सरले न मैले कसैले पनि समय दिन सकिएन । कर्मचारीको भरमा मत्र त्यो मेडिकल सञ्चालन हुन सकेन ।’

साथै उहाँले मेडिकल पढेको भएपनि अनुभव नहुँदा केही समस्या भएको बताउनुभयो । ‘होस्टेल सञ्चालनमा राम्रै अनुभव भयो । अब के गरे के हुन्छ भन्ने जानकारी छ,’ मंगलाले भन्नुभयो, ‘तर मेडिकल क्षेत्र मेरो भए पनि अनुभव भएन । त्यसले पनि त्यो राम्रो हुन सकेनहोला ।’

‘महिलालेले गर्ने राम्रै काम भए पनि हेपाई छ’

नेपाल पितृ सत्तात्मक देश भनेर चिनिन्थ्यो । जहाँ पुरुषको अधिनमा महिला हुनु पर्छ भन्ने मान्यता थियो । अहिले यो सोच परिवर्तन भएको छ । महिला र पुरुष दुबै बराबरी हुन भनिन्छ । महिला पछाडी पारियो भनेर हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागीता अनिवार्य भनेर संविधानमै व्यवस्था भएको छ ।

तर अझै पनि महिला केही होइनन् । केही गर्न सक्दैनन् भन्ने कतिपयमा धारणा पाइन्छ । यस्तै धारणाको सिकार आफू हुनु परेको मंगलाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुरुषले गरेको जे पनि राम्रो छ । तर महिलाले गरेको काम हे के नै गरेको छ र? भन्ने हेपाई अहिले पनि छ ।’

उहाँले अगाडी भन्नुभयो, ‘यसको सिकार म पनि भए, कति भनियो भनियो, अझै पनि भनिन्छ । तर भन्नेले जे भने पनि आफ्नो काम ईमान्दारीका साथ गर्न छाड्नु हुँदैन । सफलता मिल्छ ।’ उहाँले महिलाले चाहे जे पनि गर्न सक्ने तर्क गर्नुभयो । साथै मंगलाले काम नगरेर नबस्न अरुलाई पनि आग्रह गर्नुहुन्छ ।

जे भएपनि काम गर्न आग्रह गर्दै महिला दिदीबहिनी अझै स्वरोजगार हुन आवश्यक रहेको उहाँको भनाई छ । हामी सक्षम छौ भन्ने मात्र नभएर गरेर देखाउन पनि उहाँले आग्रह गर्नुभयो ।

Ad Area