कोइलाखानीमा मोहनलालको मृत्यु : परिवार समस्यामा

दाङ, १५ फागुन । घोराही उपमहानगरपालिका–१९ निवासी ४२ वर्षीय मोहनलाल कामी विगत १३÷१४ वर्षदेखि कोइलाखानीमा कोइला खन्ने काम गर्दै आएका थिए । पहाडकोभित्र सुरुङ खनेर कोइला खन्ने काम जोखिमपूर्ण भए पनि घरको कमजोर आर्थिक स्थितिका कारण उनी जोखिमपूर्ण काम गर्न लामो समयदेखि विवश थिए ।

Blog Post Ad

गाउँघरमा अन्य कामका लागि अवसरहरु नहुने र घरपरिवारको रेखदेख गर्ने जिम्मेवारी भएका कारण उनी २०५६÷०५७ सालदेखि कोइला खन्ने काम आफ्नै ठाउँमा सुरु भएदेखि नै उनी कोइला खन्ने काम गर्दै आएका थिए । तर बीचमा केही वर्ष उद्योग नचल्दा काम गरेका थिएनन्, नत्र निरन्तर त्यहीँ काम गरेर आएको पैसाले घरव्यवहार चलाउनेदेखि छोराछोरीहरुलाई पढाउने काम गर्थे ।

Blog Post Ad

पहाडभित्र खनेर बनाइएका सुरुङहरुमा मानिसहरुभित्र छिर्न समेत डराउने ती सुरुङहरुमा उनको दैनिकी चल्दै आएको थियो । उनी दैनिक करिब एक सयदेखि १ सय ८० मिटर भित्रसम्म पसेर कम्तीमा ८ घण्टासम्म काम गर्ने गर्थे । काम गरेवाफत उनलाई कोइला उत्खनन्को जिम्मा पाएको सत्यसाई कोल उद्योगले प्रतिक्विण्टल एक सय ४० रुपैयाँ दिने गरेको थियो ।

हरेक दिन विहान ८ बजे कोइलाखानीभित्र पस्ने उनी ११ बजे खाना खानलाई निस्कन्थे । त्यसपछि खाना खाएर केही समय विश्राम गरेपछि पुनः १ बजेतिर भित्र पसेपछि ५ बजे निस्कन्थे । यसरी चल्दै आएको मोहनलालको करिब १३÷१४ वर्षदेखिको दैनिकी गएको सोमवारदेखि सकिएको छ । कोइलाखानीमा करिब एक सय ६० मिटरभित्र पसेर कोइला खन्ने क्रममा कामीको मृत्यु भएको थियो ।

सोमवार दिउँसो करिब २ः३० बजेतिर माथिबाट खसेको ढुङ्गाले च्यापिएर मृत्यु भएको थियो । कोइलाखानीको सुरुङभित्र उनीसहित चार जनाले काम गर्दै गरेको भए पनि अन्य तीनजना उनीदेखि टाढा भएकाले बच्न सफल भएको सँगै काम गर्दै आएका प्रत्यक्षदर्शी रिखुराम घर्तीले बताए ।

‘कोइलाखानीभित्र हामी चार जनाले एउटै सुरुङभित्र काम गर्ने गरेका थियौँ, दूरीका हिसाबले अलि टाढा थियौँ, एक्कासी माथिबाट खसेको ढुङ्गासहितको माटोले उहाँलाई चोट लाग्दा मृत्यु भयो’–घर्तीले भने–‘ढुङ्गासहितको माटोले चोट लागेपछि उहाँ ढल्नुभयो, हामीले बोलाउँदा बोल्नुभएन, त्यसपछि हामीले मुन्सी (स्थानीय प्रतिनिधि)लाई खबर ग¥यौँ ।’ मुन्सीले प्रहरीलाई खबर गरेपछि गएको प्रहरीसहितको टोलीले खानीबाट उनको शव निकालेको थियो ।

उक्त कोइलाखानीभित्र कोइला खन्ने काममा उनी सँगै १५ जनाले काम गर्दै आएका थिए । आर्थिक रुपमा कमजोर मोहनलालको मृत्यु भएपछि घरपरिवारमा थप समस्यामा परेको छ । कोइला खन्ने क्रममा उनको मृत्यु भएपछि १९ दिनकी सुत्केरी श्रीमती शान्तिका आँखा ओभाएका छैनन् । श्रीमानको मृत्युले श्रीमती विक्षिप्त छिन् । तर १९ दिनकी सानी छोरीसहित ५ जनाको परिवार पाल्ने जिम्मेवारी उनको काँधमा थपिएको छ ।

‘ठूली छोरीको विवाह भइसकेको छ, ठूलो छोरा भर्खर १३ वर्षका भए, अरु छोराछोरी त साना छन्’– शान्तिले भनिन्– ‘घरमा उत्पादन हुने अन्नपातले एक महिना पनि खान पुग्दैन, कमाउने मान्छे रहनुभएन, अब कसरी घर चलाउने होला ?’ जेठा छोरा दीपक कामी किरिया बसेका छन् । कान्छो छोरा पाँच वर्षका भए । माइली छोरी सात बर्षकी भइन् ।

शान्तिको काखमा १९ दिनकी कान्छी छोरी छिन् । श्रीमती सुत्केरी भएपछि उनले घरमा समेत श्रीमतीको स्याहारसुसारको काम गर्दै आएका थिए । ‘कान्छी छोरी जन्मिएपछि उहाँले नै घरमा खाना बनाउने र आफ्ना लागि काममा जाँदा खाना लगेर जानुुहुन्थ्यो, त्यस दिन पनि बिहानै खाना बनाएर काममा जानुभएको थियो’–उनले भनिन्–‘काममा जाँदा तिमी सुत्केरी मान्छे अरुलाई कुरेर नबस्नु भोक लागेको बेला खाना खानु भन्नुभएको थियो, तर अब पकाई खुवाउने मान्छे समेत भएन ।’

मृतकका परिवारलाई दश लाख क्षतिपूर्ति

कोइला खन्ने क्रममा मोहनलाल कामीको मृत्युपछि उनको परिवारले दश लाख रुपैयाँ पाउने गरी सहमति भएको छ । उद्योगले कामदारको बिमा गरिदिएबाफतको पाँच लाख रुपैया र सत्यसाई कोल उद्योगले पाँच लाख गरी मृतकको परिवारलाई दश लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको छ । त्यसमध्ये तत्काल किरिया खर्चका लागि एक लाख रुपैयाँ उपलब्ध गराइएको छ ।

कोइलाखानीभित्र पसेर कोइला खन्ने काम जोखिमको भएकाले मजदुरहरुको उद्योगले बिमा गरिदिने गरेको सत्यसाई कोल उद्योगका प्रतिनिधि लुमाकान्त बुढाथोकीले बताए । ‘पहाडभित्र सुरुङ खनेर कोइला निकाल्ने काम जोखिमपूर्ण हो, त्यसैले कम्पनीले काम गर्ने मजदुरको बिमा गरिदिने गरेको छ’–प्रतिनिधि बुढाथोकीले भने–‘जसले गर्दा दुःखमा परेको परिवारलाई थोरै भए पनि सहयोग मिलोस् भन्ने हो ।’

उनले यस अघि कामका क्रममा चोट लागेर सामन्य घाइते हुने गरेपनि सुरुङभित्रै यस्तो घटना भएको पहिलो भएको बताए । दाङका विभिन्न ठाउँमा रहेका कोइला खानीहरुमा काम गर्ने क्रममा अहिलेसम्म ७ जना बढीले सुरुङमा परिएर ज्यान गुमाईसकेका छन् ।

काम गर्ने क्रममा सहकर्मी गुमाएपछि अन्य कामदारहरु भने काम गर्न डराएका छन् । उनीहरुले अब जोखिमपूर्ण काम नगर्ने समेत बताउँदै आएका छन् ।