मेरो फुटबल प्रतिको लगाव र मिहिनेतमा कहिल्यै कमी आउने छैन

रविन रोका मगर
फुटवल खेलाडी

विगत १० वर्ष देखी फुटवल खेल्दै आउनु भएका घोराही १८ का रविन रोका मगर दिलो ज्यानले फुटवल खेलमा लाग्नु भएको छ । नेताहरुले सधै खेल क्षेत्रको विकास गर्नका लागी विभिन्न शिर्षकमा बजेट छुट्टाएका छौ भनेर आश्वासन दिए पनि यसको महशुस खेलाडीले गर्न नपाएको उहाँको भनाई छ । यसैविच हामीले घोराही १८ का २४ वर्षिय रविन रोका मगरसँग कुराकानी गरेका छौँ………….

Blog Post Ad

प्रस्तुतीः चन्द्रप्रकाश नेपाली

Blog Post Ad

स्वगत छ ।

धन्यवाद ।

फुटवल खेल्न कहिलेदेखी र कसरी सुरु गर्नु भयो ?
म विगत १० वर्षदेखी फुटवल खेल्दै आएको छु । म ठुलो ठुलो टुनामेन्टहरु खेल्न लाको चाही ७ वर्ष जति भयो । म ४, ५ कक्षामा पढ्दादेखी नै साथीहरुसँग सानै देखी फुटवल खेल्ने गर्दथिए । हामी स्कुल लेवलमा पनि शुक्रबारको दिन आफुभन्दा सानो वा ठुलो कक्षासँग सानैदेखी म्याच खेल्ने गर्थ्यौ ।

फुटवल खेलमै भविष्य देख्नु भएको छ त ?
फुटवल खेलमै राम्रो गर्दै जाने र प्रोफेसनल तरिकाले खेल्दै जाने हो भने त भविष्य छ । नेपालमा खेल क्षेत्रमा जति लगानी हुनु पर्ने हो, त्यति मात्रामा लगानी छैन् । जस्तो उच्च तहमा पुगेका खेलाडीहरुले जुन खालको डाईट, फिजिकल र ट्रेनिङहरु पाउनु पर्ने हो त्यो पाएको देखिदैन् ।

सबैको आर्थिक अवस्था राम्रो हुन्छ भन्ने नै हुन्न । कहिले कही त फुटवल खेल्नको लागी बुट पनि हुदैन् । त्यसैले जो कोहीलाई फुटवल खेलमा भविष्य भेट्न मुस्किल छ । मेरो मानेमा भन्नु पर्दा अव अहिले सम्म फुटवल खेलिरहेको छु ।

आफुले अझै मेहनत गर्दै अघि बढ्ने हो । जति सक्यो राम्रो गर्दै जाने हो । ए डिभिजन लिग चलिराछ, बि डिभिजन, सी डिभिजन लिग चल्छ, आफुले मेहनत गरेर त्यो लिगहरु खेल्न सके राम्रो हुन्छ, जस्तो लाग्छ ।

अहिलेसम्म त त्यस्तो फरक केही सोच छैन जहिले सम्म सक्छु । यही फुटवल नै खेल्छु र मेरो मेहनतका साथै खेलप्रतिको लगावले अव मलाई जहासम्म पुराउछ ।

फुटवल खेल्नकै लागी के कस्ता ठाउँमा पुग्नु भयो र कस्तो खालको सफलता हात पर्नु भयो ?
मेरो अहिले सम्मको फुटवलको खेलप्रतिको अनुभव निकै रमाईलो भएको छ । म अहिले सम्मको सवभन्दा ठुलो खेल भनेको २८ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा हो । त्यो वेला चाही हामी मध्यपश्चिमको समुहबाट खेलेका थियौ ।

त्यतिबेला चाही आर्मी, पुलिस, एपिएफ गरी तिन वटा विभागीय टोली थियो । धनगढीमा ५ लाख वरवरको पुरस्कार भएको मुख्यमन्त्री कप फुटवल प्रतियोगिता भएको थियो, त्यो खेल खेलियो । दाङभित्र हुन धेरै खेलहरु खेलिन्छ । खेल खेल्नको लागी टाढा भनेको बुटवल सम्म पुगेको छु । जित हारको कुरामा चाही सबै खेलमा जित नै हुन्छ भन्ने छैन् ।

केही दिन पहिले नेपालगञ्ज सैनिकमा भएको खेलमा हामी सेमी फाईनलमा पुगेका थियौ । हामीले युएनबिसीबाट खेल्दा खेरी जिल्ला लिगहरु पनि जित्यौ । बेलझुन्डी भएको प्रदेश लिगमा दाङको तर्फबाट खेल खेलियो । फुटवल प्रतियोगिता भए पनि पुरस्कार निकै थोरै हुन्छ । धेरै भनेको १ लाख सम्म हुन्छ ।

सरकारले खेल क्षेत्र र खेलाडीहरुको विकासका लागी कसरी ध्यान दिनुपर्ला ?

दाङदेखी वुटवल निकै नजिक छ तर त्यहाँ राष्ट्रिय खेलाडी १० देखी १२ जना छन् । हाम्रो दाङमा २ जनामात्रै छन् । त्यसैले दाङको स्थानिय सरकारले खेलाडीको क्षमता विकास र खेल क्षेत्रको विकासका लागी विषेश ध्यान दिन आवश्यक छ ।

बाहिरको खेलाडीहरुलाई दाङमा ल्याएर खेल खेलाउन सकियो भने यहाँका खेलाडीहरुले धेरै सिक्ने अवसर पाउछन् । त्यसैले बाहिरका खेलाडीहरुलाई दाङमा खेलाउन सक्ने खालको वातावरण वनाउन । यहाँको सरकारसँगै दाङ जिल्ला फुटवल संघले पनि ध्यान दिनु पर्छ ।

फुटवल बाहेकका विभिन्न खेलहरु हुदा हुदै पनि यहाँले फुटवलाई नै किन रोज्नु भयो त ?
विभिन्न खेलहरु भए पनि मलाई फुटवल खेल नै मन पर्छ । किनकी सानै देखी मेरो एक जनामा फुटवाल खेल्नु हुन्थ्यो । अहिले उहाँ कोरिया हुनुहुन्छ । मलाई फुटवल खेल्नु पर्छ भनेर उहाँबाट पनि धेरै पे्ररणा मिल्यो ।

हामीले सानोमा मोजाको बाल खेल्ने गर्थियौ । पछि फुटेको बालमा ब्लाडर हालेर पनि खेल्ने ग¥यौ । फुटवल सुज नभएर खाली खुट्टै पनि हामी खेल्ने ग¥यौँ । विशेष त आफुभन्दा ठुलोहरुले खेलेको देखेर म फुटवलप्रति नै आक्रषित हुन थाले र अहिले फुटवल नै खेल्ने गरेको छु ।

फुटवल खेलले के दिन्छ ?
यसले ज्यानलाई फिट राख्छ । वर्तमान समयमा धेरै किशोर अवस्थाका भाईहरु कुलतमा फसेको देखिन्छन् । हामी फुटवलमा ब्यस्त हुन सकेको भए खेलमै ध्यान जाने थियो । कुलतबाट बचाउन पनि सकिन्छ ।

पहिले सानो भाईहरुले कति राम्रो खेल्दै थिए । खेल क्षेत्रमा त्यस्तो राम्रो खालको ध्यान सम्बन्धित निकायले ध्यान नदिदा नै उनिहरु कुलतमा फसेका हुन् । त्यसैले खेल क्षेत्रलाई सुधार्न सकियो भने सक्षम र सभ्य युवा हामीले निर्माण गर्न सक्छौँ ।

स्थानिय सरकारले खेल क्षेत्रको विकासका लागी कस्तो खालको काम गरेको तपाई चाहानु हुन्छ ?
नेताहरुले सधै खेल क्षेत्रको विकास गछौँ । यसको विकास गर्नका लागी हामीले विभिन्न शिर्षकमा थुप्रो बजेट छुट्टाएका छौ भनेर आश्वासन दिनुहुन्छ तर व्यवहारमा कहिले पनि काम हुन सक्दैन् । त्यसैले पनि हामी भाषणमा मात्रै खेल क्षेत्रको विकास र सुधारका कुरा सुन्न पाउछौँ । तर व्यवहरमा महशुस गर्न भने पाएका छैनौँ ।

घोराहीमै पनि प्रत्येक वडामा खेल मैदान बनाउछौँ जस्ता कुरा सुनिन्छ । तर खेल मैदान भाषणमा मात्रै बन्छ । त्यसैले खेल क्षेत्रको विकासका लागी यहाँको स्थानिय सरकार गम्भिरताका साथ लाग्न जरुरी देखिन्छ ।

अन्त्यमा तपाईलाई भन्न मन लागेको त्यस्तो केही छ भने ?
हाम्रो दाङबाट राम्रो खेलाडीहरु निर्माण गर्न सके निकै राम्रो हुने थियो । त्यसैले पनि ग्राउन्ड निर्माण गर्ने खेलाडीहरुको विकासका लागी सरकार तथा फुटवल संघले पनि प्रभावकारी रुपमा काम गर्न आवश्यक देखिन्छ ।

यो समय र विचारका लागी धन्यवाद ।
मलाई मेरो अनुभाव र खेल क्षेत्रको बारेमा केही विचार राख्ने अवसर दिनुभएकोमा राजमार्ग अनलाईन परिवारलाई पनि धेरै धेरै धन्यवाद ।