थारु समुदायका व्यक्तिहरु माघीको तयारीमा

दाङ, २९ पुस। थारू समुदायको सबैभन्दा ठूलो र महत्त्वपूर्ण चाडको रुपमा मनाइने माघी नजिकिएसँगै चहलपहल शुरू भएको छ । ‘माघ’ पर्व नजिकिएसँगै थारु समुदायका व्यक्तिहरु माघको तयारीमा जुटेका छन् । बजारमा पनि किनमेल गर्नेहरुको चहलपहल बढ्ेको छ । दाङमा पनि यस पर्वमा खाने विभिन्न परिकारहरु जुटाउन थारु समुदाय व्यस्त देखिएका छन् ।

माघमा थारु समुदायको विशेषगरी ढिक्रि, बङ्गुरको मासु, माछा, घोंगी, गङ्गटो, अचारलगायतका अन्य विभिन्न किसिमका धेरै खानाका परिकारहरु बनाइ खाने चलन रहिआएको छ ।

थारु समुदायका पुरुषहरू माघका लागि मासुको जोहो गर्न व्यस्त छन् भने महिलाहरूलाई घर लिपपोत गर्न, दुना टपरी बनाउन भ्याइनभ्याइ छ । यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकोले आफ्ना परिवारका लागि नयाँ–नयाँ कपडा किन्न गाउँबाट शहर बजार जान थालेका छन् ।

Blog Post Ad

थारु सम्वत् २०४४ को सुरु हुने भएकाले पनि यो माघ पर्व सबैभँदा ठूलो पर्वका रुपमा मनाउने गर्दछन् । लुम्बिनी प्रदेश सरकारले यसवर्ष पनि माघीको अवसरमा दुई दिन सार्वजनिक विदा दिएको छ । माघ १ र २ गते प्रदेशका १२ वटै जिल्लामा सरकारले सार्वजनिक विदा दिएको हो ।