तुलसीपुरको मासु बजारमा छड्के

तुलसीपुर, २९ पुस । तुलसीपुर उपमहानगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । बजारमा हुने कालो बजारी रोक्न र सबै व्यवसायीलाई करको दायरामा ल्याउन उपमहानगरले बजार अनुगमनलाई निरन्तरता दिएको हो ।

बजार अनुगमन नियमित नहुँदा बजारमा खुलमखुल्ला अखाद्यवस्तु बिक्रि वितरण हुने, दर्ताबिनै व्यवसाय संचालन गर्ने र उपभोक्ता ठगिने क्रम बढेपछि उपमहानगरले अहिले नियमित रुपमा बजार अनुगमन गर्न थालेको हो ।

उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माको नेतृत्वमा प्रहरी, उपभोक्ता हित संरक्षण मञ्च, पत्रकार लगायतको उपस्थितिमा आज पनि बिहानै तुलसीपुरको मासुबजार अनुगमन गरिएको छ ।

Blog Post Ad

अुनगमनको क्रममा मासुपसलमा फोहर व्यवस्थित हुन नसकेको, फलामको तारमा मासु झुण्ड्याएको पाइएको शाखा प्रमुख शर्माले जानकारी दिनुभयो । अव्यवस्थित रुपमा संचालनमा रहेका मासुपसललाई व्यवस्थित रुपमा संचालन गर्न निर्देशन जारी गरिएको छ ।

केहिदिन अघि उपमहानगरपालिकाको सार्वजनिक सुनुवाईमा मासुबजार व्यवस्थित हुन नसकेको भन्ने गुनासो आएपछि उपमहानगरले मासुबजारमा थप निगरानी बढाएको छ । बुधबार (आज) बिहान ५ बजेखि ७ बजेसम्म गरिएको अनुगमनको क्रममा मासु बजार पहिलेको अवस्थामा सुधारात्मक अवस्थामा देखिएको प्रमुख शर्माले बताउनुभयो ।