लुम्बिनी प्रदेशमा ९५ प्रतिशत बढी संक्रमित निको

जीतसागर जी.एम.

दाङ, २७ पुस। लुम्बिनी प्रदेशमा कोरोना संक्रमित निको हुनेदर ९५ प्रतिशत नाघेको छ । प्रदेशका १२ वटै जिल्लामा गरेर अहिलेसम्म कुल संक्रमितको ९५ दशमलव ६८ प्रतिशत संक्रमित निको भएका छन् । प्रदेशमा अहिलेसम्म २६ हजार ५६९ जनामा संक्रमण देखिएको ९५ दशमलव ६८ अर्थात २५ हजार ४२१ जना निको भएका छन् ।

Blog Post Ad

प्रदेशमा अहिले ७ सय ८९ जना सक्रिय संक्रमित रहेको लुम्बिनी प्रदेशको जनस्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा पछिल्लो समय संक्रमित थपिने भन्दा पनि निको हुने दर बढ्दै गएको निर्देशनालयका निर्देशक डा. बिनोदकुमार गिरीले जानकारी दिनुभयो ।

प्रदेशका १२ जिल्लामध्ये निको हुने प्रतिशत सबैभन्दा बढी प्युठान रहेको छ । प्युठानमा अहिलेसम्म कुल संक्रमित ९१० जनामध्ये ८९३ जना अर्थात ९८ दशमलव १३ प्रतिशत निको भएका छन् । त्यसैगरी गुल्मीमा कुलसंक्रमित ९४९ मध्ये ९२५ जना निको भएका छन् । जुन ९७ दशमलव ४७ प्रतिशत हो ।

त्यसैगरी रुकुमपूर्वमा ९४ जना संक्रमित मध्ये ९१ जना अर्थात ९६ दशमलव ६८ प्रतिशत निको भएका छन् । प्रदेशमा सबैभन्दा बढी प्रभावित रुपन्देहीमा अहिलेसम्म ९ हजार ८०४ जना संक्रमितमध्ये ८ हजार ४०४ जना निको भएका छन् । ुरुपन्देहीमा निको हुने प्रतिशत ९५ दशमलव ४६ प्रतिशत रहेको छ ।

त्यसैगरी दाङमा ३ हजार ४ सय ९६ जना संक्रमितमध्ये ९५ दशमलव ५१ प्रतिशत अर्थात ३ हजार ३३९ जना निको भएका छन् । त्यसैगरी कपिलवस्तुमा २०३७ संक्रमितमध्ये १९२६ जना अर्थात ९४ दशमलव ५५ प्रतिशत निको भएका छन् ।

त्यसैगरी पाल्पामा १ हजार ८५३ मध्ये १ हजार ७५०, बाँकेमा ४ हजार ४९९ जनामध्ये ४२९७ जना, अर्घाखाँचीमा ८३३ जनामध्ये ७८१ जना निको भएका छन् । पाल्पा, बाँके र अर्घाखाँचीमा क्रमश ः निको हुने दर ९४ दशमलव ४४, ९६ दशमलव ५८ र ९३ दशमलव ७६ प्रतिशत रहेको छ ।

त्यसैगरी बर्दियामा ९६ दशमलव ४९ प्रतिशत, नवलपरासी पश्चिममा ९५ दशमलव २० प्रतिशत र रोल्पामा ९६ दशमलव ३१ प्रतिशत निको भएका छन् ।

बर्दियमा १ हजार ४८२ संक्रमितमध्ये १ हजार ४३०, नवलपरासी पश्चिममा १ हजार ४१८ मध्ये १ हजार ३ सय ५० र रोल्पामा २४४ जनामध्ये २३५ जना निको भएका छन् । प्रदेशमा अहिलेसम्म ३५६ जना संक्रमितको मृत्यु भइसकेको निर्देशनालयले जनाएको छ ।