तुलसीपुरमा कृषि अनुदानका लागि आवेदन माग

जीतसागर जी.एम

तुलसीपुर, २४ पुस। दाङको तुलसीपुर उपमहानगरपालिकाले कोरोना प्रभावित किसानलाई कृषिमा करिब ५० प्रतिशत अनुदान दिने भएको छ । नगरले कोरोना प्रभावका कारण गाउँ फर्किएर कृषि पेशा लागेका किसानलाई अनुदान दिने भएको हो ।

नगरले कृषि उत्पादनमा करिब २० हजार र कृषि औजारमा ५० हजार अनुदान दिने भएको हो । कृषि अनुदानका लागि नगरले सम्बन्धित किसानबाट आवेदन समेत मागेको छ । पुस २८ गतेसम्म कोरोना प्रभावित किसानले आवेदन दिन सक्ने सुचनामा उल्लेख गरिएको छ ।

Blog Post Ad

कृषि उत्पादन बढाउन र कृषि क्षेत्रमा युवाहरुलाई प्रोत्साहनका लागि उमहानगरले अनुदान दिन लागेको उपमहानगरका निमित्त प्रमुख प्रशासकिय अधिकृत भाष्करराज गौतमले जानकारी दिनुभयो ।

अनुदानका लागि उपमहानगले कोरोना प्रभावित व्यक्ति हुनुपर्ने, पशुपालन तथा कृषि पेशामा आवद्ध हुनुपर्ने, परिवारमा मासिक आम्दानी १० हजारभन्दा कम हुनुपर्ने, एउटा परिवारबाट एक जनालेमात्रै आवेदन दिन पाउने, तरकारीबाली कम्तीमा पाँच कट्टा क्षेत्रफलमा गरेको हुनुपर्ने, मौरी पालक किसान भएमा कम्तिमा पाँच वटा घर भएको हुनुपर्ने, च्याउखेती किसानका लागि कम्तिमा १०० पोका च्याउ खेती गरेको हुनुपर्ने मापदण्डा निर्धारण गरेको छ ।

त्यसैगरी कुखुरा पालकको लागि कम्तिमा ५० वटा कुखुरा पालेको हुनुपर्ने, बंगुर तथा बाख्रापालक किसानका लागि कम्तिमा पाँच वटा पाठापाठी हुनुपर्ने प्रावधान राखिएको छ । त्यसैगरी कृषि औजार अनुदानका लागि कृषि तथा पशुपालन क्षेत्रमा अनिवार्यरुपमा लागेको हुनपर्ने उपमहानगरले जनाएको छ ।